बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रहरू प्रभावित भएका छन्। बाढी प्रभावित क्षेत्रबाट कम्तीमा ९५ जनाको शव फेला परेको छ भने सयौं व्यक्ति अझै सम्पर्कविहीन छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फेला परेका शवहरूको साँझ ७ बजेसम्म पहिचान हुन सकेको छैन। बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी, पर्यटक तथा जलविद्युत् आयोजनाका कर्मचारी रहेका छन्।
रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा खटिएका नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ गरी ८५ सुरक्षाकर्मी बेपत्ता भएको सरकारले जनाएको छ। त्यस्तै, प्रभावित क्षेत्रका ३९१ विदेशी र ९३ नेपाली पर्यटक सम्पर्कविहीन रहेका छन्।
विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारी बेपत्ता भएका छन्। रसुवागढी भन्सार कार्यालय र अध्यागमन कार्यालयका केही कर्मचारी पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
भोटेकोशी नदीमा बिहान करिब ८:४० बजे आएको बाढीले १९ वटा मोटरेबल पुल र ४० किलोमिटर कालोपत्रे सडकमा क्षति पुर्याएको सरकारको भनाइ छ। खोज तथा उद्धार कार्य जारी रहेकाले क्षति र मानवीय क्षतिको थप विवरण आउन सक्ने बताइएको छ।







