नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा इम्बार्क कलेजले हायर एजुकेसन पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ। अवार्डको २३औं संस्करण यही १८ भदौमा काठमाडौंमा हुँदैछ।
बिहीबार सम्पन्न सम्झौताअनुसार मञ्चले छनोट गर्ने एक राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति दिनेछ। सो छात्रवृत्तिको रकम अधिकतम १८ लाख रुपैयाँसम्म हुने बताइएको छ। मञ्चका अनुसार एनएसजेएफ एकेडेमीको अनुसन्धान, तालिम र मेन्टरसिप कार्यक्रममा पनि कलेजको सहयोग रहनेछ।
बिहीबार सम्पन्न कार्यक्रममा सम्झौतापत्रमा एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरे भने इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरको तर्फबाट नीरज न्यौपानेले हस्ताक्षर गरे। उक्त अवसरमा ठाकुरले नेपाली खेलकुदकै प्रतिष्ठित मञ्चसँग जोडिन पाउनु सुखद रहेको उल्लेख गर्दै भविष्यमा साझेदारीलाई अझ प्रगाढ बनाउने बताए।
अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ। पिपल्स च्वाइस विधाका मनोनयन पनि सार्वजनिक भएका छन्। फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ यस विधाका उम्मेदवार हुन्।
खेलप्रेमीले खल्ती वालेटमार्फत मतदान गर्न सक्नेछन्। त्यस्तै, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको फेसबुक पेजमा खेलाडीको तस्बिरमा लाइक गरेर पनि भोट दिन सकिने व्यवस्था मिलाइएको छ।
आगामी अवार्ड समारोहमा उत्कृष्ट पुरुष तथा महिला खेलाडी, वर्षको युवा खेलाडी, वर्षको प्रशिक्षक, पिपुल्स च्वाइस, लाइफटाइम अचिभमेन्ट, स्पेसल अवार्ड, पारा एथ्लिट अनर र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड गरी विभिन्न विधामा सम्मान गरिनेछ।







