भदौ १०, काठमाडौं । तिब्बतबाट रसुवा हुँदै भित्रिएको बाढीमा परी ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ । नेपाल प्रहरीले बुधबार राति साढे ८ बजेसम्म एक सय जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको हो ।
प्रहरीका अनुसार मृतकमध्ये चितवनमा सबैभन्दा बढी ३३ जना छन् । यसैगरी गोरखामा १९, धादिङमा १८, नुवाकोटमा ११, नवलपरासी (पूर्व) मा ११, तनहुँमा ७ र रसुवामा १ जनाको शव फेला परेको छ ।
बाढी प्रभावित जिल्लाहरूमा उद्धार र खोजी कार्य भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जोखिमका क्षेत्रमा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नेदेखि विभिन्न निकाय र स्थानीयवासीको समन्वयमा उद्धार एवं खोजी गर्ने काम भइरहेको छ । साथै बाढीका कारण अवरुद्ध भएका सडकहरू खुलाउने कार्य पनि भइरहेको प्रहरीले बताएको छ ।







