बोटेकोशी र त्रिशूली नदीमा बुधबार आएको विनाशकारी बाढीपछि घाइतेको उद्धार, बेपत्ताको खोजी र प्रभावितको सुरक्षा सुनिश्चित गर्नु सरकारको शीर्ष प्राथमिकता रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले आम नागरिकलाई सम्बोधन गर्दै बाढीबाट ठूलो जनधनको क्षति भएको बताए। उनका अनुसार उद्धार, खोजी तथा राहतका लागि सिंगो राज्य संयन्त्र परिचालन गरिएको छ। यस विपद्मा हालसम्म ९५ जनाको मृत्यु भएको जानकारी दिँदै उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् र उपचाररत घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
बाढीको सूचना प्राप्त हुनासाथ सरकारले आफ्नो विपद् प्रतिकार्य संयन्त्र तुरुन्त सक्रिय बनाएको प्रधानमन्त्रीको भनाइ छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय सुरक्षा परिषद् र मन्त्रिपरिषद्को आपत्कालीन बैठक बसेको थियो। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी प्रभावित क्षेत्रमा खटाइएको उनले बताए।
काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा बाढीपीडितको निःशुल्क उपचारका लागि १०० शय्या छुट्याइएको छ। राजधानीका अन्य प्रमुख अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा उद्धार सहयोग र आपत्कालीन उपचारका लागि चिकित्सक टोली परिचालन गरिएको छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत संस्थाका उद्धार तथा चिकित्सा टोली पनि खटिएका छन्।
औषधि, रगत र आपत्कालीन स्वास्थ्य सेवाको पर्याप्त व्यवस्था गर्न नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, प्रदेश स्वास्थ्य मन्त्रालय, लायन्स क्लब र नेपाल स्काउटसँग समन्वय गरिएको छ।
प्रभावित स्थानीय तह र संघीय सांसदहरूसँगको समन्वयमा मृतक, बेपत्ता, घाइते र क्षतिको विवरण संकलन भइरहेको छ। रातभर खोजी तथा उद्धार कार्य जारी राखिने प्रधानमन्त्री शाहले बताए।
बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका रहेका छन्।
प्रभावित समुदायलाई खाद्यान्न, खानेपानी, औषधि र अस्थायी आवास तत्काल उपलब्ध गराइने प्रधानमन्त्रीले बताए। क्षतिग्रस्त सडक, पुल, विद्युत् प्रणाली र खानेपानी आयोजनाको पुनर्स्थापनामा तीव्रता दिइने र विस्थापितको पुनर्स्थापनालाई प्राथमिकता दिइने उनको भनाइ छ।
“तपाईंहरूका लागि सिंगो राज्य संयन्त्र र स्रोत परिचालित छन्,” शाहले भने, “तपाईंहरूको उद्धार, उपचार, खाना र आवासको जिम्मेवारी सरकारले लिन्छ।”
प्रधानमन्त्रीले राजनीतिक दल, सामाजिक संस्था, उद्योगी, युवा स्वयंसेवक र आम नागरिकलाई एकजुट भई उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन आह्वान गरेका छन्।







