काठमाडौं, १२ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। संकटको यो घडीमा मानव जीवन बचाउने र प्रभावित परिवारसम्म तत्काल राहत पुर्याउने कामलाई सबैभन्दा पहिलो प्राथमिकता दिन उनले आग्रह गरेका छन्।
शुक्रबार बिहान उनले फेसबुकमा एउटा भिडियो सन्देश सार्वजनिक गरेका छन्। सो सन्देशमा उनले बाढीले क्षति पुर्याएका भौतिक संरचना बिस्तारै मर्मत गर्न सकिने तर गुमेको जीवन फर्काउन नसकिने बताएका छन्। आफ्नो जीवनको महत्वपूर्ण समय र पौरख जोडिएको ठाउँ भएकाले रसुवा आफ्ना लागि केवल एउटा जिल्ला मात्र नभएको उल्लेख गर्दै उनले चिलिमे र रसुवागढीलगायत जलविद्युत् आयोजनामा पुगेको क्षति देख्दा मन भारी बनेको बताए।
घिसिङले जोखिममा रहेकाहरूको उद्धार गर्ने, पीडित परिवारसम्म राहत पुर्याउने र त्यसपछि मात्र पुनर्स्थापनाको काम अगाडि बढाउनुपर्ने स्पष्ट पारेका छन्। यो संकट सरकार एक्लैले सम्हाल्ने विषय नभई सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ। सरकारकै नेतृत्वमा सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक एकजुट भएर काम गर्नुपर्ने उनले बताए।
देशभित्र र विदेशमा रहेका नेपालीहरूलाई यो संकटका बेला सहयोग जुटाउन घिसिङले अपिल गरेका छन्। कसैका लागि सानो सहयोग पनि ठूलो सहारा बन्न सक्ने उनको भनाइ छ।
यसैगरी, उनले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त जलविद्युत् प्रसारण लाइन र सडक पूर्वाधारको यथाशीघ्र पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्। पुनर्निर्माणका लागि आवश्यक बौद्धिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन्।







