मुख्य सामग्रीमा जानुहोस्

फाइनल प्रवेश गरेका रवीन्द्र ढाँटलाई प्रधानमन्त्री बालेन शाहको बधाई : राष्ट्रकै गौरव

चीनको सांघाईमा न्युजिल्यान्डका कासिब मर्डोकलाई हराएर रोड टु युएफसीको फाइनल पुगेका रवीन्द्र ढाँटलाई प्रधानमन्त्री बालेन शाहले बधाई दिएका छन्। उनले रवीन्द्रको सफलतालाई राष्ट्रकै गौरवको विषय बताएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
फाइनल प्रवेश गरेका रवीन्द्र ढाँटलाई प्रधानमन्त्री बालेन शाहको बधाई : राष्ट्रकै गौरव
Online Khabar

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले रवीन्द्रको उपलब्धि सम्पूर्ण राष्ट्रकै लागि गौरवको विषय भएको बताएका छन्।

चीनको सांघाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गर्दै रवीन्द्र रोड टु युएफसीको फाइनलमा पुगेका हुन्। जितपछि उनले नेपालमा बाढीका कारण सिर्जित समस्याबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै सबैले सक्दो सहयोग गर्न आग्रह गरेका थिए।

रवीन्द्रको सो अपिललाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नेपालको विपद्को अवस्था अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याएकोमा उनलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिएका छन्।

“नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकोमा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रधानमन्त्रीले रवीन्द्रको सफलतालाई राष्ट्रकै गौरवको विषय बताउँदै सरकारको ध्यान यतिखेर विपद् प्रभावित नागरिकमा केन्द्रित रहेको उल्लेख गरेका छन्।

“सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ। मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौँ,” उनले लेखेका छन्।

नेपाली फाइटर रवीन्द्रको यो उपलब्धिलाई प्रधानमन्त्रीले राष्ट्रिय गौरवका रूपमा समेत चिनाएका छन्।