मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढीपछि रोल्पाका २४ जना अझै सम्पर्कविहीन, चार जनाको सम्पर्क खुल्यो

तिब्बततर्फबाट आएको बाढीपछि रोल्पाका २४ जना अहिलेसम्म सम्पर्कविहीन छन्। कामको लागि रसुवा पुगेकामध्ये चार जना भने सम्पर्कमा आएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढीपछि रोल्पाका २४ जना अझै सम्पर्कविहीन, चार जनाको सम्पर्क खुल्यो
Online Khabar

रोल्पा, १३ भदौ । कामको सिलसिलामा रसुवा पुगेका रोल्पाका २८ जनामध्ये २४ जना अहिलेसम्म सम्पर्कविहीन छन् । तिब्बततर्फबाट आएको बाढी रसुवाको भोटेकोशी नदीमा पसेपछि उनीहरूको सम्पर्क खुल्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका अनुसार कामको सिलसिलामा रसुवा पुगेकामध्ये चार जना भने सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा स्थायी ठेगाना नखुलेको दिलिजा पुन, रुन्टिगढी गाउँपालिका–८ का ध्रुवबहादुर बुढामगर, थबाङ गाउँपालिका–२ का नवराज रोकामगर र रोल्पा नगरपालिका–२ का रमेश वली छन् । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले चार जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको बताएका छन् ।

सम्पर्कविहीनको विवरण

प्रशासनको विवरणअनुसार सुनिलस्मृति गाउँपालिकाका १० जना सम्पर्कविहीन छन् । सुनिलस्मृति–६ का रविलाल भण्डारी, राजेन्द्र महत, कुमार महरा, बसन्त महरा र सन्जु महत, सुनिलस्मृति–५ का हरि बहादुर घर्ती, आर्यन घर्ती, अनाराम पुन र सोम बहादुर घर्ती तथा सुनिलस्मृति–३ का जक्त हादुर पुन मगर सम्पर्कविहीन सूचीमा छन् ।

यस्तै, रोल्पा नगरपालिका–१० का लेखराज रोका, माडी गाउँपालिका–५ की तिला बाँठा मगर, माडी–३ की दीपा घर्ती मगर र गंगादेव गाउँपालिका–२ की कमला पुन मगर पनि सम्पर्कविहीन छन् ।

परिवर्तन गाउँपालिका–६ का कुलप्रसाद बुढामगर, मीना घर्ती मगर, डिपी बुढामगर र खुसी बुढामगर, सुनछहरी गाउँपालिका–५ का सुनिल विक तथा रुन्टीगढी गाउँपालिका–८ का गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार र विकास परियार पनि सम्पर्कविहीन छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले प्रशासनमा बेपत्ता तथा सम्पर्कविहीन हुने २६ जनाको विवरण मात्र उपलब्ध रहेको जानकारी दिए । उनका अनुसार खोज तथा उद्धारका क्रममा स्थायी ठेगाना नखुलेकी दिलिजा पुन र रोल्पा नगरपालिका–२ का रमेश वली समेत सम्पर्कमा आएका हुन् ।

सम्पर्कविहीन परिवारका सदस्यहरूले उनीहरू जीवितै फेला पर्ने आशा भने मारिसकेका छन् । परिवर्तन गाउँपालिका–६ का भीमप्रकाश बुढामगरका एकै परिवारका चार जना सदस्य सम्पर्कविहीन छन् । उनले जीवितै भेटिने आशा मारिसकेको र अब लास मात्र भेटिए पुग्ने बताएका छन् ।