मुख्य सामग्रीमा जानुहोस्

बेपत्ताका आफन्तको आक्रोश : सुरुङ उद्धारमा दक्ष जनशक्ति खटाउनुपर्ने माग

नुवाकोटस्थित त्रिशूली ब्यारेकमा आफन्तको पर्खाइमा बसेका परिवारजनले उद्धारमा दक्ष जनशक्ति र विज्ञ नपुगेको गुनासो गरेका छन्। हाल सुरुङभित्र दुईवटा स्काभेटरबाट काम भइरहेको विद्युत प्राधिकरणले जनाएको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बेपत्ताका आफन्तको आक्रोश : सुरुङ उद्धारमा दक्ष जनशक्ति खटाउनुपर्ने माग
Online Khabar

रसुवाको भोटेकोशीमा गत बुधबार बिहान आएको बाढीपछि बेपत्ता भएकाका आफन्तहरू खोज तथा उद्धार प्रयासप्रति असन्तुष्ट देखिएका छन्। उनीहरू अहिले नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र त्रिशूलीमा आफन्तको पर्खाइमा बसेका छन्। हेलिकप्टर अवतरण हुनासाथ आफन्त फर्किएला भन्ने आशा जाग्ने, फर्कन नदेखिएपछि निरास हुने र फेरि अर्को हेलिकप्टरको प्रतीक्षा गर्नुपर्ने उनीहरूको दैनिकी चार दिनदेखि यस्तै छ।

लमजुङ घर भएका सोभित पोखरेल तीन दिनदेखि सोही ब्यारेकमा आफन्तको खोजीमा छन्। उनकी छिमेकी दिदी अपर त्रिशूली थ्री ‘ए’ आयोजनामा मेकानिकल सब इन्जिनियरका रूपमा कार्यरत थिइन्। सोभितका अनुसार सो आयोजनामा करिब ४५ जना कामदार थिए। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।

अघिल्लो साँझ भिडियो कलमा बिहान ७ बजेदेखि १२ घण्टा ड्युटी रहेको र साँझ फेरि कुरा गर्ने भनिएको थियो। तर चार दिन बितिसक्दा पनि सम्पर्क नभएको सोभित बताउँछन्। ९ भदौको साँझदेखि उनी सम्पर्कविहीन छिन्। साँझ ९ बजेर १८ मिनेट ५६ सेकेन्डमा उनको लोकेशन सुरुङभित्रै देखिएको थियो। त्यसपछिको अवस्थाबारे आफूलाई जानकारी नभएको सोभितको भनाइ छ। विद्युत प्राधिकरणले सुरुङको डिजाइनअनुसार आफन्तहरू सुरक्षित रहनसक्ने बताएको भए पनि आफूहरूलाई केही जानकारी नदिइएको उनले गुनासो गरे।

त्रिशूली ब्यारेकमा आफन्तको पर्खाइमा बसेकाहरू राज्यको उद्धार प्रयासबाट सन्तुष्ट छैनन्। उद्धारमा दक्ष जनशक्ति नहुँदा समस्या भइरहेको उनीहरूको गुनासो छ। गृहमन्त्री आफैं सुरुङ क्षेत्रमा पुगेर खटिएको बताइए पनि त्यसले उद्धारमा ठोस नतिजा ननिकाल्ने उनीहरूको तर्क छ। सोभितले भने, ‘उद्धार त दक्ष जनशक्ति र विज्ञले मात्र गर्न सक्छन्, स्काभेटरले नदीको बालुवा निकालेजस्तो गरेर हुँदैन।’

आफन्तहरूले दैनिक १५/२० वटा स्काभेटर र पर्याप्त दक्ष जनशक्ति परिचालन गर्न सुझाव दिएका छन्। तर त्यसो गर्न सकिएको छैन। अफिसको समयजस्तो दिनको आठ घण्टा मात्र काम हुने र साँझ ६ बजेपछि भिजिबिलिटी कम भएको भन्दै काम रोकिने गरेको उनीहरूको गुनासो छ। पहिले नाइट भिजन प्रयोग गरेर सुरक्षाकर्मीले रात्रि अपरेसन गर्ने गरेकामा अहिले त्यस्तो नभएको उनीहरू बताउँछन्।

कतिपय आफन्त त आफैं ज्यान जोखिममा राखेर सुरुङ रहेको ठाउँसम्म पुगेका छन्। पारि तर्फबाट हिँडेर चार जना सुरुङ क्षेत्रमा पुगेको तर त्यसबाट केही नतिजा ननिस्किएको उनीहरूको भनाइ छ।

कालिकोटका तपेन्द्र विष्ट पनि आफ्ना माइला भाइको खोजीमा त्रिशूली ब्यारेक पुगेका छन्। उनका माइला भाइ त्रिशूली थ्री ‘बी’को सुरुङमा बेपत्ता छन्। १० भदौ बिहान ८ बजे सबैभन्दा पछिल्लो पटक भाइसँग कुराकानी भएको थियो। त्यतिबेला ड्युटी सकेर कोठा जान लागेको बताएका धीरेन्द्र विष्ट त्यसयता सम्पर्कविहीन छन्। उनीसँगै रहेका नेपाल विष्ट पनि सम्पर्कविहीन रहेको तपेन्द्रले बताए। आफूहरूले ‘कि सास देऊ कि लास देऊ’ भन्दै आक्रोश व्यक्त गरेको उनको भनाइ छ।

बेपत्ताका आफन्तको एउटै माग छ– जतिसक्दो छिटो उद्धार गरियोस्। सुरुङमा उद्धारमा समय लागिरहेको विद्युत प्राधिकरणका कर्मचारीहरू पनि स्वीकार्छन्। अन्य ठाउँको तुलनामा सुरुङ जटिल रहेको र त्यहाँ स्रोतसाधन पुर्‍याउन कठिन भएकाले ढिलाइ भएको उनीहरूको बुझाइ छ।

प्राधिकरणका एक कर्मचारीका अनुसार हाल सुरुङभित्रै जोगिएका दुईवटा स्काभेटरबाट उद्धारको काम भइरहेको छ। बाढीले क्षतिग्रस्त पारेका स्काभेटर मर्मत गर्न काठमाडौंबाट पार्टपुर्जा र मेकानिक ल्याइएको थियो। मेसिन मर्मतपछि आवश्यक मास्टर कि बनाएर ल्याइएको र अपरेटर खोजेर लगिएको बताइएको छ। अहिले त्रिशूली थ्री ‘ए’को सुरुङमा ती दुई स्काभेटरले काम गरिरहेका छन्।

१० भदौ बिहान ८:४५ बजे तिब्बततर्फ आएको बाढीले रसुवाको भोटेकोशी, नुवाकोट र धादिङमा क्षति पुर्‍याएको थियो। सो बाढीमा परेर हाइड्रोपावरमा कार्यरत ९३३ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धारमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित छन्।