बैतडी — जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई कार्यालय प्रवेश गरेको एक घण्टाभित्र सेवा उपलब्ध गराउने ‘वान आवर सर्भिस’ शुक्रबारदेखि लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले सेवाग्राहीले कार्यालय प्रवेश गरेको एक घण्टाभित्र काम सक्ने गरी व्यवस्था मिलाइएको बताए। आवश्यक कागजात पूरा भएकाले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सेवा सोही समयमा पाउने उनले जानकारी दिए।
यसले सेवा प्रवाहलाई छिटो र सहज बनाउनुका साथै कर्मचारीलाई थप जिम्मेवार बनाउने उद्देश्य राखेको उनले बताए। सेवाग्राहीले लामो समय प्रतीक्षा गर्न नपर्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय जिल्ला प्रशासनमा सेवा लिनेको संख्यामा कमी आएको छ। जिल्लाको दक्षिणी क्षेत्र मेलौली र पूर्वी क्षेत्रको पुर्चौडी नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि चाप घटेको हो।

