काभ्रेपलाञ्चोक, १३ भदौ । रसुवामा आएको बाढीका कारण काठमाडौं विश्वविद्यालय (केयू) का तीन सिभिल इन्जिनियरिङ विद्यार्थी सम्पर्कविहीन भएका छन्। माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसीपका लागि पुगेका उनीहरूसँग अहिलेसम्म सम्पर्क हुन नसकेको विश्वविद्यालयले जनाएको छ।
केयूका असिस्टेन्ट प्रोफेसर मनिष प्रकाशका अनुसार सम्पर्कविहीन हुनेमा सृष्टि बास्तोला, समीर पौडेल र शिशिर गिरी छन्। उनीहरू केयूको स्कुल अफ इन्जिनियरिङअन्तर्गत सिभिल इन्जिनियरिङ विभागको सन् २०२२ ब्याचका विद्यार्थी हुन्।
सिभिल इन्जिनियरिङको चौथो वर्षमा अध्ययनरत विद्यार्थीले छ हप्ते इन्टर्नसीप अनिवार्य रूपमा गर्नुपर्छ। सोही क्रममा उनीहरू त्रिशूली–३ ‘बी’ आयोजनामा पुगेका थिए। पौडेल र गिरी सोमबार आयोजनामा पुगेका थिए भने बास्तोला मंगलबार मात्रै कार्यस्थलमा पुगेकी थिइन्।
बाढीपछि तीनै विद्यार्थीको खोजी तथा उद्धारका लागि प्रकाश नुवाकोट पुगेर उनीहरूको नाम टिपाएर फर्केका छन्। तीनै जनाको मोबाइल ट्रयाक गर्दा जलविद्युत् आयोजना वरपरकै क्षेत्र देखिएको उनले बताए।
“तीनै जनाको टेलिफोन ट्रयाक गर्दा पनि जलविद्युत् आयोजना वरपर नै तीनै जनाको लोकेसन देखाएको छ। सडकमार्ग अवरुद्ध छ। हेलिकप्टरबाट नेपाली सेनाले रेस्क्यु गरिरहेको भनिएको छ। हामीले सम्बन्धित निकायहरूमा खबर गरेका छौं।” उनले भने।
बास्तोलाका बुबा माधवप्रसाद बास्तोलाका अनुसार मंगलबार आयोजनास्थल पुगेपछि सृष्टिले राति ११ बजेसम्म परिवारसँग कुराकानी गरेकी थिइन्। सो क्रममा उनले बिहानै ब्रिफिङ रहेको र फिल्डमा जानुपर्ने बताएकी थिइन्। बिहान बाढी आएको थाहा पाएपछि परिवारले १० बजे फोन गरे पनि सम्पर्क हुन सकेको थिएन।
“बाढीको सूचना पाएपछि छोरीसँग कुरा गर्न फोन गरिरह्यौं। तर, सम्पर्क हुन सकेन। त्यसयता सम्पर्कविहीन छ,” उनले भने। आफ्नी छोरीको अवस्था यथाशीघ्र थाहा होस् र उद्धारमा ढिलाइ नहोस् भन्ने परिवारको माग छ। “छोरीको अवस्था चाँडै थाहा होस्, सरकारले चाँडोभन्दा चाँडो रेस्क्यु गरोस्। कामना गर्छु– मेरी छोरी जिउँदो रूपमा फर्केको हेर्न पाऊँ,” बुबा माधवप्रसादले भने।
केयू प्रशासन र सम्बन्धित परिवारहरूले सरकार तथा स्थानीय निकायसँग समन्वय गरिरहेका छन्। तर, बाढीले क्षेत्रको पूर्वाधारमा पुर्याएको क्षति र सडक अवरोधका कारण घटनास्थलसम्म भौतिक रूपमा पुग्न कठिनाइ भइरहेको बताइएको छ।
काभ्रेका ४१ जना सम्पर्कविहीन
यसैबीच रसुवाको बाढीपछि काभ्रेपलाञ्चोकका ४१ जना सम्पर्कविहीन छन्। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार परिवार तथा आफन्तले नाम टिपाएअनुसार सो संख्या खुलेको हो।
सम्पर्कविहीनमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत कामदार छन्। यस्तै होटल व्यवसायी, भन्सारमा सामान छुटाउन गएका, भन्सारका गाडी लिन पुगेका, ट्रेकिङ गाइड, गाडी चालक, बैंकमा कार्यरत, कैलाश मानसरोवर जाने यात्रु र सवारीधनी पनि सम्पर्कविहीनको सूचीमा छन्।







