काठमाडौं, ३० अगस्ट । २६ अगस्टमा नेपालमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटका करिब १ लाख ६० हजार महिला तथा बालिका प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यूएन वुमेनले सार्वजनिक गरेको पहिलो लैङ्गिक अलर्टअनुसार ती दुई जिल्लामा मात्रै १,५७,०५० महिला तथा बालिका प्रभावित भएको अनुमान गरिएको छ।
अलर्टमा विपत्को पूर्ण क्षति अझै यकिन नभएको उल्लेख गर्दै हालसम्म ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको, करिब एक हजार व्यक्ति बेपत्ता रहेको र झन्डै १० हजार घर बगाएको जनाइएको छ। बाँचेकाहरूले खाद्यान्न, पानी, स्वास्थ्य तथा संरक्षण सेवाको अभाव झेलिरहेका छन्।
घरपरिवारमा अवैतनिक हेरचाहको जिम्मेवारी प्रायः महिलाले नै लिने र राहत तथा सूचनामा पहुँच बढी सीमित हुने भएकाले यस्तो बेला महिला तथा बालिका बढी प्रभावित हुने संस्थाले बताएको छ।
“विपत्ति आइपर्दा महिला तथा बालिकाका लागि विद्यमान जोखिमहरू निकै बढ्छन्,” नेपालका लागि यूएन वुमेनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पाचेकोले भनेकी छन्। “यसले दुर्व्यवहार, शोषण, भोक र औषधिमा पहुँच नहुने जोखिम बढाउँछ।”
लैङ्गिक अलर्टले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका करिब तीनमध्ये एक महिला निरक्षर रहेको उल्लेख गरेको छ। निरक्षरताका कारण उनीहरूलाई राहतबारे जानकारी पाउन, दर्ता प्रक्रिया पूरा गर्न र सहायता आफैं दाबी गर्न थप कठिनाइ हुने बताइएको छ।
आर्थिक कमजोरी पनि उत्तिकै जोखिमको विषय बनेको छ। बागमती प्रदेशका तीनमध्ये एक घरपरिवारको नेतृत्व महिलाले गर्छन् र तीमध्ये एक तिहाइ घरपरिवारको आय रेमिट्यान्समै निर्भर छ, जुन पहिल्यै दबाबमा रहेको यूएन वुमेनले जनाएको छ।
संस्थाले सरकार, संयुक्त राष्ट्रसंघका निकाय, महिला अधिकार सङ्गठन र मानवीय साझेदारहरूसँग मिलेर महिला तथा बालिकालाई आधारभूत सेवा, संरक्षण र पुनर्लाभमा सहयोग पुर्याउने काम गरिरहेको छ। साथै, महिलाको नेतृत्वमा सञ्चालन हुने सामुदायिक भान्सा (कम्युनिटी किचन) परिचालनका लागि स्रोत जुटाइरहेको छ। उक्त कार्यक्रमले तत्काल खानाको व्यवस्था गर्नुका साथै महिला नेतृत्व, आजीविका र दीर्घकालीन पुनर्लाभका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
यूएन वुमेनले बाढीबाट प्रभावित, विशेषगरी विस्थापित वा हिंसा, बेचबिखन र शोषणको उच्च जोखिममा रहेका महिला तथा बालिकालाई सहयोग गर्न अमेरिकी २० लाख डलरको सहयोग अपिल गरेको छ।







