काठमाडौँ, ३० अगस्ट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा) ले प्रधानमन्त्रीको विपद् राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नाइमाले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारमा समवेदना प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। संघका अनुसार यसअघि नै आबद्ध कम्पनीहरूले आर्थिक सहायता, सवारी साधन, यातायात तथा राहतका लागि आवश्यक लजिस्टिक्सका माध्यमबाट उद्धार र राहत कार्यमा सहयोग पुर्याइसकेका छन्।
संघका अध्यक्ष ऋतु सिंह वैद्यले विपद्को सामना गर्नु निजी क्षेत्रको साझा जिम्मेवारी भएको बताएका छन्। उनले सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
नाइमाले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यमा संलग्न सरकारी निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्धार टोली, स्वयंसेवक तथा स्थानीय समुदायलाई धन्यवाद दिएको छ। साथै संघले अटोमोबाइल तथा यातायात क्षेत्रका सरोकारवालाहरूलाई आआफ्नो क्षमताअनुसार राहत कार्यमा सहयोग पुर्याउन आग्रह गरेको छ।







