भदौ १६, काठमाडौं । राष्ट्रिय सभाकी सदस्य कमला पन्तले विपद् जोखिमबारे विगतमा सांसदहरूले सरकारलाई दिएका सुझाव सुनुवाइ नभएको बताएकी छन्। मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले मनसुनजन्य विपद्बारे संसद्मार्फत पटक–पटक ध्यानाकर्षण गराइए पनि सरकारले सुनुवाइ नगरेको आरोप लगाइन्।
बाढी, पहिरो, डुबान र अतिवृष्टिजस्ता घटना अब असामान्य नरहेको भन्दै उनले जलवायु परिवर्तनका कारण ती जोखिम झनै बढेको बताइन्। यस्तो अवस्थामा चेतावनीलाई बेवास्ता नगरी तुरुन्तै कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ। विपद् आउनुअघि नै उचित पूर्वतयारी गरेको भए क्षति कम गर्न सकिने उनले स्मरण गराइन्।
रसुवामा गएको विनाशकारी बाढीका कारण बेपत्ता भएका नागरिकको खोजी र उद्धारमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न पन्तले आग्रह गरिन्। जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न पनि उनले माग गरिन्। भदौ १० गते रसुवामा विनाशकारी बाढी गएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशी बाढीमा परी मंगलबार बिहान ९ बजेसम्म ९८७ जनाको शव भेटिएका छन्। जिल्लागत रूपमा हेर्दा:
रसुवा – २७
नुवाकोट – ९५
धादिङ – ५५
गोरखा – ६५
तनहुँ – ३८
नवलपरासी पूर्व – २१६
नवलपरासी पश्चिम – १७०
चितवन – ३२१
त्यसैगरी २७९ जना घाइते भएका छन् भने अझै ३ हजार ९१६ जनासँग सम्पर्क हुन सकेको छैन। प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ।
उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएका छन्। तीमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।







