स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ । न्यु जर्सीको मेटलाइफ रंगशालामा सोमबार बिहान भएको फाइनलमा स्पेनले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो ।
खेलमा स्पेनले पूर्ण नियन्त्रण राखे पनि निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको पहिलो हाफ पनि गोलरहित रह्यो । तर फेर्रान टोरेजले १०६औं मिनेटमा गोल गर्दै स्पेनलाई विजयी बनाए । निको विलियम्सको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका टोरेजले गोल गरेका थिए ।
स्पेनले यसअघि २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको थियो । यो स्पेनको दोस्रो विश्वकप उपाधि हो ।
अर्जेन्टिना भने फाइनलमा चौथोपटक पराजित भएको छ । अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो । २०२२ को कतार संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
दोस्रो हाफको इन्जुरी टाइममा इन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ब्राजिलका काफुपछि तीन विश्वकप फाइनल खेल्ने कीर्तिमान बनाए तर फाइनलमा उनले कुनै जादु देखाउन सकेनन् । उनी अधिकांश समय स्पेनको मिडफिल्डको घेराभित्र रहे ।
