नेकपा एमालेको पुनर्गठन कार्यदलका लागि प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा बनेको सो प्रतिवेदन २९ पृष्ठको छ र कार्यदलमा आबद्ध नरहेका नेता ज्ञवालीले त्यसलाई तयार गरेका हुन् ।
आइतबार बिहान ९ बजेका लागि बोलाइएको कार्यदल बैठकमा पेस गर्ने उद्देश्यले तयार पारिएको यो प्रतिवेदन शनिबार नै कार्यदलका सदस्यहरूलाई पठाइएको छ । गत बिहीबार गुन्डुमा भएको अनौपचारिक छलफलमा ओलीले ज्ञवालीलाई अलग्गै प्रतिवेदन बनाउन निर्देशन दिएका थिए ।
महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनले भने अध्यक्ष ओलीको विदाइ हुनुपर्ने विषयलाई मूल निष्कर्ष बनाएको छ । निर्वाचनमा भएको ऐतिहासिक पराजयको नैतिक जिम्मेवारी लिएर ओलीले राजीनामा दिनुपर्ने, अन्यथा असोजमै महाधिवेशन प्रतिनिधि परिषद्को बैठक राखेर वैधानिक प्रक्रियाबाट उनलाई हटाइने सन्देश त्यसमा समेटिएको छ । नेतृत्व असफल भएको र देशभरका कार्यकर्ताको चाहना नेतृत्व परिवर्तन नै रहेको निष्कर्ष पनि पोखरेलको प्रतिवेदनमा छ, जसमा प्रदेशगत रूपमा कार्यकर्ताले दिएका सुझाव समावेश छन् ।
ज्ञवालीको प्रतिवेदनले भने यसविपरीत बाटो लिएको छ । उनले पोखरेलको प्रतिवेदनको मूल अंश नै हटाउँदै नेतृत्व परिवर्तनको प्रस्ताव पूरै खारेज गरेका छन् र उल्टै ओलीको प्रशंसा थपेका छन् ।
ओलीको कार्यकालको प्रशंसा
२०७१ सालको नवौं महाधिवेशनबाट ओली एमाले अध्यक्ष बनेपछि भएका कामहरूको लामो प्रशंसा प्रतिवेदनमा गरिएको छ । साथै भदौ २३–२४ मा भएको निर्वाचन र त्यसलाई वैधता दिन आयोजित निर्वाचनको परिणाम कुनै व्यक्ति विशेषको कमजोरीका कारण सिर्जित भएको नभएको निष्कर्ष ज्ञवालीले लेखेका छन् ।
ओलीले नेतृत्व छोडेको भए पनि चुनावको नतिजा योभन्दा फरक नहुने तर्क उनले प्रस्तुत गरेका छन् । यसको उदाहरण दिँदै नेपाली कांग्रेस, नेकपा, मधेशी दल तथा अन्य साना दलहरूले पनि चुनाव जित्न नसकेकाले ओलीलाई मात्र दोष दिन नहुने उनको भनाइ छ ।
तैपनि पार्टीभित्र नेतृत्वमाथि प्रश्न उठेको प्रसंग ज्ञवालीले सम्झिएका छन् । पुनर्गठनको बहसमा नेतृत्वको प्रश्न पनि गम्भीर रूपमा उठेको यथार्थ स्वीकार गर्दै इतिहासमा कुनै पनि नेतृत्व बहसभन्दा माथि नहुने उल्लेख गरेका छन् । प्रश्न उठेपछि यसको निराकरण महाधिवेशनको लोकतान्त्रिक विधिबाट गरिसकेको उनको भनाइ छ ।
अर्थात् गत मंसिरको अर्ली एघारौं महाधिवेशनबाट तेस्रोपटक अध्यक्ष भइसकेका ओलीलाई हटाउने गरी पार्टीको कोर्स अगाडि बढाउन नहुने निष्कर्ष प्रतिवेदनमा पर्न आएको छ । निर्वाचनको नतिजाबारे भने ओली र उनका निकट नेताहरूले भन्दै आएको निष्कर्षलाई नै ज्ञवालीले सदर गरेका छन् ।
पराजयका कारणबारे व्याख्या
यसपटक एमाले पराजित हुनुको मूल कारणमा विदेशी चलखेल, अल्गोरिदम, जेनजी आन्दोलनबारे जनताले नबुझ्नु र युवा पुस्ता पार्टीबाट टाढा हुनुलाई ज्ञवालीले राखेका छन् । राष्ट्रियता, लोकतन्त्र, सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा जनताको श्रीवृद्धि र समृद्धिसम्बन्धी नीति र अडान अस्थिरताका संवाहक शक्तिलाई पाच्य नभएको तथा आफूविरुद्ध भएको छद्म आक्रमणको वेग सोचेभन्दा बढी रहेको र त्यसमा केही आन्तरिक कमजोरीले सहयोगी भूमिका खेलेको उनको ठहर छ ।
आन्तरिक पक्षतर्फ ओलीले राम्रो काम गर्दागर्दै कार्यकर्ताले प्रचार नगरिदिएको, आन्तरिक एकता हुन नसकेको, बाह्य शक्तिको तागतमा पार्टी विभाजन भएको जस्ता निष्कर्ष पनि प्रतिवेदनमा समेटिएका छन् ।
नेतृत्व हस्तान्तरणमा जोड
नेतृत्व परिवर्तनको एजेन्डा खारेज गर्दै ज्ञवालीले क्रान्तिकारी पार्टीको संस्कृति बुझाउनेगरी प्रतिवेदन लेखेका छन् । बुर्जुवा पार्टीहरूमा नेतृत्वको प्रश्न मूलतः व्यवस्थापकीय हुने, किनकि उनीहरूले सचेतनापूर्वक आन्दोलनको नेतृत्व गर्नु नपर्ने उनको तर्क छ । तर क्रान्तिकारी पार्टीको नेतृत्व केवल सांगठानिक विषय नभई वैचारिक विषय पनि हुने उनले उल्लेख गरेका छन् ।
कम्युनिष्ट पार्टीले जनतालाई सत्यबारे शिक्षित र सचेत पार्दै संगठनको बलमा आन्दोलन अगाडि बढाउनुपर्ने भएकाले त्यसले नेतृत्वको फरक गुण माग गर्ने उनको भनाइ छ ।
एघारौं महाधिवेशनको निर्णयलाई निर्वाचनको नतिजाका आधारमा सच्याउनुपर्छ भन्ने कार्यकर्ताको सुझाव भने ज्ञवालीले पन्छाएका छन् । इमानदारिताका साथ ती सुझाव अभिलेखमा राखिने, कतिपयमा छुट्टै छलफल गर्नुपर्ने र कतिपय भविष्यमा कार्यान्वयन हुने भनी उनले टिप्पणी लेखेका छन् ।
प्रतिवेदनको लामो अंश भने ओलीकै नेतृत्वमा पार्टी सुधार सम्भव छ भन्ने पुष्टिमा खर्चिएको छ । वैचारिक–राजनीतिक प्रशिक्षण, सांगठानिक सुधार र एकताबद्ध प्रयत्नबाट एमालेलाई पुनःस्थापित गर्न सकिने उनको बुझाइ छ ।
“हामीले एउटा लडाइँ हारेका हौं, समग्र युद्ध होइन ।”
पार्टी पराजित भए पनि समाप्त नभएको र फेरि उठ्ने जगका रूपमा २१ फागुनको निर्वाचनमा प्राप्त १४ लाख मत रहेको पनि उनले सम्झिएका छन् । यो नतिजा इतिहासकै सबैभन्दा ठूलो हार भएको उनले स्वीकार गरेका छन् र यसको कारण बुझाउन ०७२ सालयताका घटनाक्रम तथा सांगठानिक कमजोरीलाई परिच्छेद र बुँदा बनाएर लामो व्याख्या गरेका छन् ।







