काठमाडौं । नेपाली कांग्रेसले आसन्न १५औं महाधिवेशनमा पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सहभागी गराउने प्रयास अन्तिम क्षणसम्म जारी राख्ने बताएको छ । महाधिवेशनमा कुनै पनि वरिष्ठ नेता बाहिर नरहून् भन्ने आफ्नो चाहना रहेको पार्टी प्रवक्ता देवराज चालिसेले जनाए ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी दिँदै चालिसेले सबैलाई समेट्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताए ।
उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि र शशांक कोइरालालगायत नेतालाई महाधिवेशनमा सहभागी गराउने प्रयास भइरहेको छ । देउवालाई महाधिवेशन उद्घाटनका लागि अनुरोध गर्ने तयारी पनि अघि बढेको छ ।
पार्टीभित्र देखिएका असन्तुष्टि र फरक मतलाई छलफलमार्फत सम्बोधन गर्दै सबैलाई सहभागी हुने वातावरण बनाइएको चालिसेको दाबी छ । लोकतान्त्रिक अभ्यासअनुसार पार्टीमा बहस र मतभेद हुने, त्यसलाई अन्ततः एकतामा परिणत गर्ने उनको भनाइ छ ।
भदौ ३ बाट वडा अधिवेशन
भदौ ३ गतेदेखि वडा अधिवेशन सुरु हुने र त्यसअघि महाधिवेशनको तयारीबारे अर्को केन्द्रीय बैठक बस्ने प्रवक्ता चालिसेले जानकारी दिए । बिहीबारको बैठकलाई निर्वाचनको पूर्वसन्ध्याको बैठकका रूपमा व्याख्या गर्दै उनले अबको बैठक महाधिवेशनकै पूर्वसन्ध्यामा बस्ने बताए ।
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई यसपटक पनि केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशनमा सहभागी हुने व्यवस्था मिलाइएको छ । लोकतन्त्रमा फरक मत रहन सक्ने तर त्यसलाई मतमा रूपान्तरण गर्नुपर्ने धारणा राख्दै उनले पार्टीको नेतृत्व र आगामी दिशा महाधिवेशनले वैधानिक प्रक्रियाबाटै तय गर्ने बताए ।
विभिन्न नेताबाट प्राप्त ५ बुँदे र ८ बुँदेलगायतका प्रस्ताव तथा सुझावलाई सम्बोधन गर्दै केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले भदौ २८ गते विभिन्न निर्णय गरेको उनले जानकारी दिए । ती निर्णयको मूल उद्देश्य पार्टीभित्रको असमझदारी र असन्तुष्टिलाई सम्बोधन गर्दै सबैलाई समेटेर अघि बढ्नु रहेको उनको भनाइ छ ।
पार्टीभित्र देखिएको असन्तुष्टि विभाजन नभई मतभेद भएको र नेपाली कांग्रेस वैधानिक रूपमा एउटै पार्टी रहेको तथा रहिरहने चालिसेले दोहोर्याए । महाधिवेशनलाई एकता र सहभागिताको अभियानका रूपमा अघि बढाइने उनले बताए । वडा अधिवेशन सुरु हुन लागेकाले देशभरका नेता–कार्यकर्तालाई उत्साहपूर्वक सहभागी हुन उनले आह्वान गरे ।







