पोखरामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेस इतर पक्षका नेता प्रकाशशरण महतले लोकतन्त्रमा नेतृत्वको पुस्तान्तरण नहुने बताएका छन्। नेपाली कांग्रेस इतर पक्षले आयोजना गरेको उक्त कार्यक्रममा उनले राजनीति आवश्यकताको सिद्धान्तमा चल्ने भन्दै जनताले जुन उमेर समूहको व्यक्ति आवश्यक ठान्छन्, त्यही उमेरको व्यक्तिलाई नेतृत्व जाने तर्क गरे। नेतृत्व कोही भन्नेबित्तिकै बन्ने वस्तु नभएको उनको भनाइ छ।
जेठी आन्दोलनपछि सबै दलमा नेतृत्वको पुस्तान्तरणको बहस चलिरहेका बेला महतले भने त्यसलाई सोझै अस्वीकार गरे। हस्तान्तरण युवामा पनि हुन सक्ने र प्रौढमा पनि हुन सक्ने उल्लेख गर्दै उनले जनताले अहिले पनि प्रौढ नेतृत्वलाई नै अघि सार्न चाहेको दाबी गरे। कुनै निश्चित उमेर समूहलाई मात्र नेतृत्व दिनुपर्ने बाध्यता नरहेको उनको भनाइ छ।
जनताको मतबाट निर्वाचित नेतृत्वले आफूले भनेको उमेरको भएन भनेर अस्वीकार गर्न नमिल्ने उनले बताए। निर्वाचनमा जनताले ६० वर्ष, ७० वर्ष वा ३५ वर्षका जसलाई रोजे पनि त्यसलाई मान्नुपर्नेमा उनले जोड दिए। यसै सन्दर्भमा उनले मोदी, ट्रम्प तथा चीनका नेतृत्वको उमेरतर्फ संकेत गर्दै उमेरका आधारमा नेतृत्वको मूल्याङ्कन गर्न नहुने बताए। पार्टीका कार्यकर्ताले पनि जनताको निर्णयलाई स्वीकार गर्नुपर्ने उनको आग्रह छ।
भदौ २३ र २४ को घटनाबारे आरोप
महतले गत भदौ २३ र २४ गते नियोजित रूपमा आन्दोलन र आगजनी भएको आरोप लगाए। त्यसै ढाँचामा पार्टीमा पनि विशेष महाधिवेशन गराइएको उनको दाबी छ। जेनजीलाई मुखौटा बनाएर संसद्, सिंहदरबार र अदालतलगायत राज्यका संरचनामा आगजनी गरिएको तथा पार्टीमा पनि गुटहरूलाई मुखौटा बनाएर संगठन ध्वस्त पार्ने काम भएको उनले टिप्पणी गरे।
अरूका कारण नेपालले जलवायु परिवर्तनको मार भोग्नुपरेझैँ अरूले गरेको अस्वाभाविक र अप्राकृतिक योजनाको परिणाम भदौ २३ र २४ को घटना भएको महतले बताए। विशेष महाधिवेशनको बहानामा पार्टी पनि ध्वस्त बनाइएको उनको आरोप छ।
सत्यको मुख बन्द हुँदा झूट स्थापित भइरहेको उनले गुनासो गरे। हिसाबकिताबको राजनीति अघि बढिरहेको र निष्ठा तथा आदर्शको राजनीति स्खलित हुँदै गएको उनको भनाइ छ। बीपी कोइरालाको भनाइ स्मरण गराउँदै उनले सत्यको मुख बन्द भएपछि देश र पार्टी दुवैमा झूट स्थापित हुने अवस्था बनेको उल्लेख गरे।
बुझेकाहरू पनि बोल्न हिच्किचाइरहेको गुनासो गर्दै महतले आफूहरू सत्यको पक्षमा उभिएको बताए र अरूलाई पनि खुलेर बोल्न आग्रह गरे। नबोले झूट स्थापित हुने उनको चेतावनी छ।
सर्वोच्चको फैसलाप्रति आशावादी
सर्वोच्च अदालतले आफूहरूकै पक्षमा फैसला गर्ने विश्वास महतले व्यक्त गरे। यसअघिको फैसला त्रुटिपूर्ण भएकै कारण आफूहरूलाई सर्वोच्चले निस्सा दिएको भन्दै उनले निस्सा आएसँगै देशमा अझै न्याय मरेको रहेन भन्ने आशा पलाएको बताए। अबको फैसला पनि आफ्नै पक्षमा आउने विश्वास रहेको उनको भनाइ छ।
बिहीबारदेखि आफूहरूको महाधिवेशन प्रक्रिया सुरु हुने भएकाले सबैलाई सहभागी हुन उनले आह्वान गरे।







