काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदका लागि दाबी गर्ने नेताको संख्या झन्डै एक दर्जन पुगेको छ । असोज १८ गतेदेखि सुरु हुने महाधिवेशन नजिकिँदै गर्दा वर्तमान तथा पूर्वपदाधिकारीदेखि वर्तमान र पूर्वकेन्द्रीय सदस्यसम्मले महामन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।
जिल्ला–जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंगो लाग्ने क्रमसँगै नेताहरू आन्तरिक तयारीमा जुटेका छन् । सम्भावित आकांक्षीमध्ये कतिपयले सार्वजनिक रूपमै घोषणा गरिसकेका छन् भने कतिपयले आफूनिकट नेतालाई उम्मेदवारीबारे जानकारी गराइसकेका छन् ।
बहालवाला महामन्त्रीद्वय दोहोरिन चाहन्छन्
बहालवाला महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे दुवैले १५औं महाधिवेशनबाट पनि सोही जिम्मेवारीमा रहने इच्छा देखाएका छन् । सभापति गगन थापाको नेतृत्वमा पार्टीमा परिवर्तन ल्याउन खोजिएको उल्लेख गर्दै महामन्त्री पौडेलले आफूलाई महामन्त्रीकै जिम्मेवारीमा प्रस्तुत गर्ने प्रयास हुने बताए ।
अर्का महामन्त्री घिमिरेले पनि अहिलेकै पदमा रहने सोच बनाएको र यो स्वाभाविक चाहना भएको प्रतिक्रिया दिए । निर्वाचन भए महामन्त्रीमै उठ्ने, सर्वसम्मत भए सल्लाह गरेर अघि बढ्ने उनको भनाइ छ । पार्टीको आन्तरिक प्रणाली, मूल्यांकन पद्धति, निर्वाचन र निर्णय प्रक्रियामा सुधार ल्याउने तथा आमनागरिकको पार्टीप्रति विश्वास बढाउने विषय विशेष महाधिवेशनमा नाराका रूपमा अघि बढाइएको स्मरण गर्दै उनले एक कार्यकाल काम गर्ने चाहना राखेको बताए ।
१४औं महाधिवेशनमा पनि पौडेल महामन्त्रीका उम्मेदवार थिए भने घिमिरे कोशी प्रदेश सभापतिको उम्मेदवार थिए । दुवै जना त्यतिबेला पराजित भएका थिए ।
आकांक्षीको लामो सूची
कांग्रेस प्रवक्ता देवराज चालिसे, सहमहामन्त्रीहरू उदयशम्शेर राणा, प्रकाश रसाइली ‘स्नेही’ र डा. डिला संग्रौलाले पनि महामन्त्रीका लागि चाहना राखेको उनीनिकट नेताहरू बताउँछन् । यी चारै नेताले आफूलाई महामन्त्रीको आकांक्षीका रूपमा प्रस्तुत गरेका छन्, तर सभापति थापासँगको सरसल्लाहअनुसार मात्र उम्मेदवारी निश्चित हुनेमा भने उनीहरू एकमत छन् ।
१४औं महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले आफू दुई कार्यकाल केन्द्रीय सदस्य र सहमहामन्त्री भइसकेको उल्लेख गर्दै यसपटक महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।
पूर्वसभापति शेरबहादुर देउवाको समूह छाडेर पछिल्लो समय मूलधारमा आएका नैनसिंह महर, रामहरि खतिवडा र आङ्गेलु शेर्पाले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् ।
नेता महर महामन्त्रीको तयारीका लागि जिल्ला दौडाहामा व्यस्त छन् । क्षेत्रीय अधिवेशनका सिलसिलामा गृहजिल्ला ओखलढुंगामा रहेका खतिवडाले पदाधिकारीमा आफ्नो दाबी रहने र महामन्त्रीको आकांक्षी भएको बताएका छन् ।
कांग्रेसका कार्यसम्पादन समिति सदस्य आङ्गेलु शेर्पाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार रोल्पाबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका उनले प्रतिनिधि बनेपछि जिल्लाबाट काठमाडौं आइसकेको र थप छलफल भइरहेको बताए । पार्टी नेतृत्वमा रहेर काम गर्ने इच्छा राखेका उनले नेता तथा कार्यकर्ताले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे । गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा खटिने नेतामध्ये पुन पनि एक हुन् ।
केन्द्रीय सदस्य मधु आचार्य पनि महामन्त्रीका आकांक्षी हुन् । नीति प्रतिष्ठानका उपप्रमुखसमेत रहेका आचार्यले विशेष महाधिवेशनको अगुवाइ गरेका थिए ।
महामन्त्री पदको महत्त्व
कांग्रेसमा महामन्त्रीलाई पार्टीको संगठन सञ्चालन, नीति कार्यान्वयन, समन्वय र दैनिक राजनीतिक गतिविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पदका रूपमा लिइन्छ । विधानअनुसार पार्टीको केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहन्छ ।
केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्ने, केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति तथा अन्य केन्द्रीय समितिका निर्णय कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी महामन्त्रीको हुन्छ । पार्टी संगठनलाई क्रियाशील र प्रभावकारी बनाउने, पार्टी निकायमा आवश्यकताअनुसार सूचना प्रवाह गर्ने, पार्टीका निर्णय तथा कार्यक्रम कार्यान्वयन र सुपरीवेक्षण गर्ने जिम्मेवारी पनि उनकै रहने व्यवस्था विधानमा छ ।
सभापतिको निर्देशनमा प्रतिनिधि खटाउने वा समिति–उपसमिति बनाउने, केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन तथा प्रस्ताव पेस गर्ने, पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गराउने जिम्मा पनि महामन्त्रीसँग रहन्छ । योग्यता पुगेको व्यक्तिलाई तत्काल पार्टी सदस्यता वा क्रियाशील सदस्यता दिनुपर्ने अवस्था आए सदस्यता प्रदान गर्ने अधिकारसमेत विधानले महामन्त्रीलाई दिएको छ ।
पद थप्नेबारे छलफल
विधानअनुसार महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुन्छन् । तर पछिल्लो समय महामन्त्री थप्ने विषयमा पनि नेतृत्वस्तरमा छलफल चलिरहेको नेताहरू बताउँछन् । महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वसभापति देउवाको समूह छाडेर मूलधारमा आएका नेताको व्यवस्थापनका लागि महामन्त्री पद थपिन सक्ने केही नेताको भनाइ छ ।
उपसभापति भुसालले पदाधिकारी थप्ने कि भन्ने विषय छलफलमै रहेको र बैठक नबसेको जानकारी दिइन् । महामन्त्री घिमिरेले पनि पदाधिकारी थप्नेबारे विधान मस्यौदा बनेको र छलफल जारी रहेको बताए । प्रवक्ता चालिसेले यो विषय टुंगो नलागेको र छलफलमै रहेको प्रतिक्रिया दिएका छन् ।







