नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बस्तीको पुनर्स्थापनामा संघीय सरकारले पर्याप्त ध्यान नदिएको बताएका छन्। आइतबार रसुवा, नुवाकोट र धादिङका विभिन्न प्रभावित ठाउँमा पुगेर स्थलगत अवलोकन गरेका उनले पीडितका लागि दीर्घकालीन बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
सार्वजनिक जग्गा उपलब्ध नभएका क्षेत्रमा राज्यले निजी जग्गा खरिद गरेर भए पनि बस्ती व्यवस्थापनको काम अघि बढाउनुको विकल्प नरहेको उनको भनाइ छ। यसअघि सडकको टुंगो लगाएर मात्र बस्ती व्यवस्थापन गर्नुपर्ने पनि उनले बताए।
अवलोकनका क्रममा देखिएका विषय समेटेर आफूले प्रतिवेदन तयार पार्ने र त्यसलाई सरकारसमक्ष बुझाउने थापाले जानकारी दिए। बाढीपहिरो र भूकम्पजस्ता विपद्का बेला सुरुमा सबै पक्षको चासो रहने, तर समय बित्दै जाँदा ती विषय ओझेलमा पर्ने क्रमले प्रभावितहरूलाई थप समस्यामा पार्ने गरेको उनले औंल्याए।
संघीय सरकारले विपद्पछिका काम सकिएको भान पार्न खोजेकाले आफू स्वयं स्थलगत अवलोकनमा निस्किएको उनले स्पष्ट पारे।
धादिङस्थित फुर्केखोलानजिकै पुल हाल्ने तयारी भइरहेको उल्लेख गर्दै थापाले त्यहाँ पक्की पुल वा बेलिब्रिज निर्माणको काम तत्काल सुरु गर्न सरकारसँग आग्रह गरे।
गत भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्याएको थियो।







