रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीमा बाढीले बगाएको काठेपुल पुनर्निर्माण भएपछि उत्तरी रसुवाको आवतजावत सहज बनेको छ । गत कात्तिक १४ गते भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेँसी खोलाको उक्त पुल बगाएको थियो ।
बगेको पुल लगातार तीन दिनको प्रयासपछि पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक समाजको संयुक्त पहलमा पुल बनाइएसँगै आवतजावतमा राहत पुगेको छ ।
पुनर्निर्माणमा नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाका वडा प्रतिनिधि तथा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको श्रमदान एवं सक्रिय सहभागिता रहेको जनाइएको छ ।
भदौदेखि अवरुद्ध यातायात
यसअघि गत भदौ १० गते आएको विनाशकारी बाढीले स्याफ्रुबेँसीको पक्की पुल र सडकखण्ड बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो । सडक सञ्जाल विच्छेद भएको अवस्थामा अस्थायी रूपमा निर्माण गरिएको काठेपुल पनि कात्तिक १४ गते नदीको बहाव बढ्दा बगेको थियो ।
लामो समय यातायात र पैदलमार्गसमेत अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं १ देखि ५) का सर्वसाधारणले ठूलो सास्ती खेप्दै आएका थिए ।
हाल काठेपुल पुनः खडा गरिएपछि दुवै गाउँपालिकाका बासिन्दा तथा सो क्षेत्रमा यात्रा गर्ने यात्रुहरूलाई पैदल आवतजावतमा निकै राहत मिलेको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर) ले जानकारी दिए ।







