मुख्य सामग्रीमा जानुहोस्

दसैंलाई लक्षित गर्दै नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा

दसैं नजिकिँदै गर्दा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ । यात्रुले टिकटमा बढी रकम असुलिएको वा कालोबजारी भएको गुनासो यही कक्षमा दर्ता गर्न सक्नेछन् । अग्रिम टिकट बुकिङ खोल्नेबारे भने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
दसैंलाई लक्षित गर्दै नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा
eKantipur

दसैं नजिकिँदै गर्दा यात्रुको आवागमन सहज बनाउने उद्देश्यले शुक्रबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ । उपत्यकाबाट सबैभन्दा धेरै यात्रु बाहिरिने यो बसपार्कमा कक्ष राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कक्षको उद्घाटन काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशिलसिंह राठौरले गरे । नयाँ बसपार्कमा सुरु भएको यस्तो कक्ष क्रमशः अन्य स्थानमा पनि विस्तार गर्दै लगिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले बताए ।

चाडबाडलाई मध्यनजर गर्दै उपत्यकाका १४ स्थानमा यस्ता कक्ष राख्ने तयारी छ । कलंकी, नागढुंगा, बल्खु, चापागाउँ, कोटेश्वर, साँखु र चाबहिललगायत यात्रुको चाप हुने ठाउँमा कक्ष स्थापना गरिसक्ने सुवेदीले जानकारी दिए ।

सहायता कक्षमा खटिएका प्रहरी तथा यातायात कर्मचारीमार्फत यात्रुले टिकटमा बढी रकम असुलिएको वा कालोबजारी भएको विषयमा गुनासो दर्ता गर्न सक्नेछन् । यात्रुका गुनासो समाधान गर्ने र टिकट कालोबजारी गरेको पाइएमा पक्राउ गरी कारबाही गर्ने प्रहरीको भनाइ छ ।

अग्रिम टिकटबारे निर्णय सोमबार

यात्रु सहायता कक्ष सञ्चालन सुरु भए पनि अग्रिम टिकट बुकिङ खोल्नेबारे यातायात व्यवस्था विभागले अझै निर्णय गरेको छैन । दसैं आउन ९ दिन बाँकी रहँदा विभाग छलफलमै व्यस्त छ । आउँदो सोमबार सरोकारवाला निकायसँग छलफल गरेपछि मात्र अग्रिम टिकट खोल्नेबारे टुंगो लाग्ने विभागका महानिर्देशक राजिव पोखरेलले बताए ।

यता यातायात व्यवसायीहरू भने सडक सहज भएपछि मात्र अग्रिम बुकिङ खोल्नुपर्ने अडानमा छन् । सडक विभागका अनुसार दसैंअघि मुख्य सडक सुधार गरिनेछ भने पुल बगेका जिल्लामा वैकल्पिक मार्ग सुधारेर सवारीसाधन चलाउने व्यवस्था मिलाइनेछ ।