आवाससम्बन्धी खर्च धान्न बारम्बार गाह्रो पर्ने नेपालीको संख्या ७० प्रतिशत रहेको एक नयाँ अध्ययनले देखाएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट?’ नामक विश्वव्यापी प्रतिवेदनअनुसार त्यति नै अनुपातका नेपालीले अप्रत्याशित आर्थिक संकट वा अन्य समस्या आउँदा आफू बसिरहेको घरमा टिकिरहन नसक्ने वा घरबारविहीन हुनुपर्ने चिन्ता व्यक्त गरेका छन् ।
विश्वव्यापी तथ्यांक भने नेपालभन्दा फरक छ । अन्य देशमा आवास खर्च धान्न गाह्रो हुने औसत ३४ प्रतिशत र अप्रत्याशित समस्याले घर गुम्ने चिन्ता गर्ने ४८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
घरको बढ्दो आर्थिक भारले स्वास्थ्य सेवामाथिको पहुँचमा समेत असर पुर्याएको अध्ययनले देखाएको छ । सर्वेक्षणमा सहभागी २८ प्रतिशत नेपालीले आवासको दबाबका कारण उपचार लिन ढिलाइ गरेको वा उपचार नै टारेको बताएका छन्, जबकि विश्वव्यापी औसत १३ प्रतिशत मात्र छ ।
यस्तै, ३६ प्रतिशतले घरका अत्यावश्यक मर्मतसम्भारको काम पछि धकेलेका छन् भने २१ प्रतिशतले खाद्यान्न सहायताको भर पर्नुपरेको जनाएका छन् । विश्वव्यापी रूपमा खाद्यान्न सहायतामा निर्भर हुनेको दर ७ प्रतिशत छ ।
आवासको अवस्थालाई जीवनको सबैभन्दा ठूलो मानसिक तनावको स्रोत भन्ने नेपाली ६८ प्रतिशत छन्, जुन विश्वव्यापी औसत ३५ प्रतिशतभन्दा करिब दोब्बर हो । पछिल्ला १२ महिनामा ८८ प्रतिशत नेपालीले घर खर्च धान्नकै लागि अन्य आवश्यकता र खर्च कटौती गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।
परिवार र भविष्यको अनिश्चितता
महँगो आवास खर्चले परिवार सुरु गर्ने निर्णयमै असर पारेको छ । नेपालका ७२ प्रतिशत उत्तरदाताले घरको खर्चका कारण परिवार सुरु गर्नेबारे निर्णय लिन कठिन हुने बताएका छन् । विश्वव्यापी रूपमा यो दर ५६ प्रतिशत छ ।
बालबालिका भएका उत्तरदातामध्ये ७३ प्रतिशतले घरको खर्चले बालबालिकालाई दिन सकिने अवसर सीमित बनाउने चिन्ता व्यक्त गरेका छन् । साथै ७१ प्रतिशतले हालैको घरमा बसिरहनकै लागि कतिपय सपना र आकांक्षा त्याग्नुपरेको गुनासो गरेका छन् ।
चरम मौसम र असुरक्षित बसोबास
आर्थिक भारसँगै चरम मौसमी घटना र असुरक्षित बसोबासको चिन्ता पनि नेपालमा उच्च देखिएको छ । बाढी, पहिरोजस्ता घटनाका कारण आफू बस्ने ठाउँमा सुरक्षित महसुस गर्न कठिन हुने बताउने नेपाली ७२ प्रतिशत छन्, जबकि विश्वव्यापी औसत ३० प्रतिशत मात्रै छ ।
आगामी तीन वर्षभित्र चरम मौसमका कारण आफ्नै ठाउँमा बस्न झन् कठिन हुने अनुमान गर्ने नेपालीको अनुपात ७० प्रतिशत छ, जुन अध्ययनमा समेटिएका २२ देशमध्येकै उच्च हो । सन् २०१५ र २०२३ का विनाशकारी भूकम्पको अनुभव बोकेका ७६ प्रतिशत नेपालीले कमजोर घरका कारण आफूलाई असुरक्षित ठान्छन्, विश्वव्यापी औसत ४४ प्रतिशत रहँदा ।
यसैगरी ७३ प्रतिशतले असुरक्षित ढोका, झ्याल वा पर्खालका कारण डर लाग्ने बताएका छन् । कुनै असुरक्षित घटना भइहालेमा सम्बन्धित निकाय वा अधिकारीबाट छिटो उद्धार वा प्रतिक्रिया नआउने चिन्ता ७१ प्रतिशतले व्यक्त गरेका छन् भने ७१ प्रतिशतलाई नै आगामी वर्षहरूमा आफ्नो थातथलो छोड्न बाध्य हुनुपर्ने डर छ ।
नीतिगत अभाव र सुकुम्बासी समस्या
प्रतिवेदनले नेपालमा १२ लाखभन्दा बढी मानिससँग सुरक्षित जग्गा वा आवास नभएको र करिब १३ लाख परिवार अनौपचारिक जग्गा वा आवास व्यवस्थामा बसिरहेको उल्लेख गरेको छ ।
देशको आवास प्रणाली बिग्रिएको वा काम नगरेको अवस्थामा रहेको ७२ प्रतिशतले बताएका छन् । खरिद गर्न सकिने किफायती घरको अभाव औंल्याउने ७८ प्रतिशत छन् भने पहिलोपटक घर किन्नेलाई सरकारी नीतिले पर्याप्त सहयोग नगरेको ७४ प्रतिशतको भनाइ छ ।
ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले एडेलम्यान इन्टेलिजेन्समार्फत् सन् २०२६ अप्रिल १० देखि जुन ३० सम्म यो विश्वव्यापी सर्वेक्षण गराएको थियो, जसमा २२ देशका कुल ३० हजार ७५८ जना सहभागी थिए । नेपालमा भने १ हजार वयस्कको राष्ट्रिय अनलाइन नमुना, ३०० न्यून आय भएका र १०० अनौपचारिक बसोबासमा रहेका व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ता गरी कुल १ हजार ४०० जनालाई समेटिएको थियो ।







