बूढीगण्डकी नदीमा आइतबार आएको आकस्मिक बाढीपछि नेपाल रेडक्रस सोसाइटीले उद्धार, क्षति आकलन तथा राहत वितरणमा केन्द्रित प्रतिकार्य अभियानलाई तीव्र बनाएको छ। बाढी प्रभावित क्षेत्रमा संस्थाका स्वयंसेवकहरू खटिएका छन्।
गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट ग्रेग्रान बहाव आएपछि स्यारखोला थुनिएको थियो। केही समयपछि उक्त थुनाव फुट्दा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको हो। बाढी आइतबार बिहान आएको बताइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विश्लेषणअनुसार बाढीका कारण पाँच जना सम्पर्कविहीन छन्। क्षतिको विवरण यस्तो छ :
दुई पक्की पुल र दुई झोलुङ्गे पुल
तीन जलविद्युत् आयोजना
चार हवन कुण्ड
४५ घर पूर्ण र २७ घर आंशिक क्षति
३४ गोठ र तीन सवारीसाधन
बाढीपछि नेपाली सेनाका चार हेलिकप्टरमार्फत नौजना विदेशीसहित ८२ जनाको तत्काल उद्धार गरिएको छ।
स्वयंसेवक परिचालन र राहत
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालका अनुसार बाढीको सूचना प्राप्त हुनासाथै गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपुर पूर्व र पश्चिमका स्वयंसेवक परिचालन गरिएको थियो। उनीहरूले पूर्वसूचना प्रवाह गरेका थिए र प्रतिकार्य जारी रहेको उनले जानकारी दिए।
तत्काल प्रतिकार्यका लागि आवश्यक पर्ने गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको संस्थाले जनाएको छ। महामन्त्री खनालका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनाको सहकार्य तथा समन्वयमा आइतबार नै त्रिपाल (तारपोलियन), म्याट्रेस, ब्ल्याङ्केट र डिग्निटी किटलगायत सामग्री पठाइएको छ। अस्पताल सञ्चालन गर्न सकिने दुईवटा ठूला टेन्ट पनि प्रभावित क्षेत्रमा पुगेका छन्।
क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति परिचालन भइसकेको र थप आवश्यक गैरखाद्य सामग्री आज सरकारको समन्वयमा पठाइँदै गरेको खनालले बताए। प्रभावित क्षेत्रमा मानवीय सेवा पुर्याउन स्वयंसेवक तल्लीन रहेको रेडक्रसले जनाएको छ।







