गोरखामा हिमपहिरो गएपछि बुढीगण्डकी नदीमा आएको बाढीले दुई वटा पक्की पुल बगाउँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार सोमबार बिहान ६ बजेसम्मको अवस्थामा यी पुल बगेका हुन्। पहिरोग्रस्त अन्य केही सडक भने एकतर्फी रूपमा सञ्चालनमा आइसकेका छन्।
प्रहरीका अनुसार आरुघाट गाउँपालिका-२ र ३ लाई जोड्ने सोतीमा रहेको फलामे मोटरेबल पक्की पुल तथा आरुघाट गाउँपालिका-९ बाट धादिङतर्फ जोड्ने पक्की पुल बाढीले बगाएको हो। यी दुई पुल बगेपछि उक्त खण्डमा सवारी आवागमन ठप्प भएको छ।
बाढीको सुरुवात आइतबार बिहान भएको थियो। गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबिच पर्ने सिरिङ्गे हिमालमा बिहान ५ः३० बजे हिमपहिरो खसेको थियो। सोही कारण स्थानीय उइनगुलुङ खोला थुनिएपछि बुढीगण्डकी नदीमा बाढी आएको प्रहरीले जनाएको छ।
एकतर्फी सञ्चालनमा आएका सडक
बाढी तथा पहिरोका कारण अवरुद्ध भएका मुलुकका विभिन्न सडकमध्ये केहीमा भने एकतर्फी रूपमा सवारी चल्न थालेका छन्। प्रहरीका अनुसार ती सडकको अवस्था यस्तो छ :
धादिङको धुनिबेसी नगरपालिका-९ खत्रीपौवामा पहिरो जाँदा अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरोका कारण रोकिएको बेनी-जोमसोम सडक खण्ड पनि एकतर्फी चालु भएको छ।
नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका-३ जन्तीमा पहिरो गएपछि अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ। यस सडकमा ठूला गाडी भने चल्न सक्ने अवस्था छैन।
मनाङमा बेसीसहर हुँदै खाङसारसम्म पुग्ने सडक पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
बाढी र पहिरोका कारण सडक सञ्जालमा परेको असरबारे प्रहरीले निरन्तर जानकारी दिइरहेको छ।







