संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरनजंग थापाले कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा आफ्नो धारणा राख्दै उनले राष्ट्रिय हित तथा कूटनीतिक क्षमता अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राख्ने बताए । प्रस्तावित राजदूतले सोही बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।
कन्सुलर सेवामा जोड
अमेरिकामा कन्सुलर सेवाको बढ्दो चापलाई व्यवस्थापन गर्न नयाँ उपाय अवलम्बन गर्ने योजना उनले सुनाए । सेवाग्राहीको सन्तुष्टिलाई केन्द्रमा राखेर आवश्यक परे बिदाको दिन पनि सेवा उपलब्ध गराउने र बजेट जुटाउने विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने उनको भनाइ छ ।
अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपाली नागरिक र त्यहाँको डायस्पोराको सञ्जाललाई नेपालको विकास तथा सांस्कृतिक सम्पदा फिर्ता ल्याउने काममा परिचालन गर्ने पनि उनले बताए ।
सुरक्षा र प्रविधि सहयोग
सुरक्षा सहयोगतर्फ अमेरिकाले गर्दै आएको सहयोगको प्रशंसा गर्दै उनले त्यसलाई नेपालको आवश्यकता र प्राथमिकताअनुसार उपयोग गर्ने जनाए । पछिल्लो समय प्रविधि र साइबर सुरक्षा क्षेत्रमा देखिएका चुनौती सामना गर्न प्रविधि हस्तान्तरणमा विशेष पहल गर्ने उनको प्रतिबद्धता छ ।
नेपाल सरकारको निर्देशन र निर्देशिकाभित्र रहेर पिस किपिङ तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा अमेरिकी सहयोगलाई अझ प्रभावकारी बनाउन आफू सक्रिय हुने उनले उल्लेख गरे ।
राष्ट्रिय हितभन्दा ठूलो अरू कुनै कुरा नहुने र कुनै संस्था वा व्यक्तिसँगको सम्बन्धले आफ्नो कूटनीतिक कार्यमा बाधा पुग्न नदिने उनको भनाइ छ ।
अमेरिकामा अध्ययन र कामका क्रममा बनेका व्यक्तिगत सम्पर्कलाई कूटनीतिक पहुँच विस्तार गर्न तथा दुई देशबीच उच्चस्तरीय भ्रमणको वातावरण तयार पार्न उपयोग गर्ने योजना उनले सुनाए । कूटनीतिलाई सम्झाउने र मन जित्ने कला भनेर व्याख्या गर्दै आफ्नो अनुभव र सञ्जालको अधिकतम प्रयोग गरी नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने उनको प्रतिज्ञा छ ।







