बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले बूढीगण्डकी करिडोरमा निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुर्याएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, बेलिब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँचमार्गमा असर परेको मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार बूढीगण्डकी करिडोरमा प्रभावित आयोजनाहरू यी हुन् :
३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना
२४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजना
३०.५९ मेगावाटको यार खोला जलविद्युत् आयोजना
१६ मेगावाटको माछा खोला जलविद्युत् आयोजना
बूढीगण्डकी जलविद्युत् आयोजनाको विकासकर्ता टाइम्स इनर्जी प्रालिका अनुसार आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ भने केही निर्माण उपकरण पनि बहेको छ। यसैगरी दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरमा क्षति पुगेको छ र आयोजनाका लागि बनाइएको बेलिब्रिज पनि बाढीमा बगेको छ।
यार खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री तथा उपकरण बाढीले बगाएको मन्त्रालयले उल्लेख गरेको छ। माछा खोला जलविद्युत् आयोजनामा भने आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग र स्थलसँग जोड्ने पुलमा क्षति पुगेको छ।
आयोजनाको भौतिक संरचना र निर्माण कार्यमा परेको क्षतिको पूर्ण लेखाजोखा तथा वास्तविक आर्थिक नोक्सानीको यकिन भने अझै भएको छैन। मन्त्रालयले यसबारे विस्तृत विवरण तयार हुन बाँकी रहेको जनाएको छ।







