मुख्य सामग्रीमा जानुहोस्

कांग्रेसको पहिलो महिला महामन्त्री बनिन् डिला संग्रौला, महिला क्लस्टरबाट ३ हजार १ सय १८ मत

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महिला क्लस्टरतर्फ निर्वाचित हुँदै डिला संग्रौला पार्टी इतिहासकै पहिलो महिला महामन्त्री बनेकी छन् । महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाललाई पछि पार्दै उनले ३ हजार १ सय १८ मत प्राप्त…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
कांग्रेसको पहिलो महिला महामन्त्री बनिन् डिला संग्रौला, महिला क्लस्टरबाट ३ हजार १ सय १८ मत
eKantipur

काठमाडौँ — नेपाली कांग्रेसले पहिलो पटक महामन्त्री पदमा महिला नेतृत्व पाएको छ । पार्टीको १५औँ महाधिवेशनबाट महिला क्लस्टरतर्फ डिला संग्रौला महामन्त्रीमा निर्वाचित भएकी छन्, जससँगै कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री बन्ने अवसर उनले पाएकी छन् ।

महिला क्लस्टरतर्फको यो प्रतिस्पर्धामा संग्रौलाले ३ हजार १ सय १८ मत पाइन् । उनका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाल पराजित भए । यसपटक कांग्रेसले विधान संशोधन गरी महामन्त्री पदका लागि महिलाको छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो, र सोही व्यवस्थाअन्तर्गत भएको निर्वाचनबाट संग्रौला पार्टी इतिहासकै पहिलो महिला महामन्त्री बनेकी हुन् ।

निर्वाचनको नतिजा आएलगत्तै कान्तिपुरसँग कुरा गर्दै संग्रौलाले जितले आफूलाई खुसीका साथै थप जिम्मेवारी पनि बोध गराएको बताइन् । नेपाली कांग्रेसलाई अझ सशक्त, जनताको लोकप्रिय पार्टी बनाउनुपर्ने उनको भनाइ छ । सबैले कांग्रेसलाई आफ्नो पार्टी महसुस गर्ने र नेपाली जनतामा आशा तथा भरोसा जगाउने सोच आफूमा रहेको उनले सुनाइन् ।

यो स्थानसम्म पुग्न सहयोग गर्ने सबैप्रति उनी कृतज्ञ छिन् । लामो राजनीतिक संघर्षमा मेचीदेखि महाकालीसम्म पार्टीले पुर्‍याएको अनुभव र साथीभाइको स्नेहले नै आफूलाई जिम्मेवार पदमा पुर्‍याएको उनको भनाइ छ । सबैको सोच र खोजअनुसारको कांग्रेस बनाउन आफूले सहयोग गर्ने, सबैसँग सल्लाह लिएर अघि बढ्ने उनले प्रतिबद्धता जनाइन् ।

आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिका रूपमा नलिई परिवर्तनका पक्षधर, ऊर्जाशील युवा र निष्ठावान् कांग्रेसीहरूको साझा जितका रूपमा लिने उनले बताइन् । जनताको विश्वास र भरोसालाई पदमा पुग्ने विषयमा मात्र सीमित नराखी आन्तरिक लोकतन्त्रको सुदृढीकरण र जनअपेक्षा पूरा गर्ने ठूलो जिम्मेवारीका रूपमा आफूले लिएको पनि उनको भनाइ छ । पार्टीलाई युवा पुस्ताले चाहेजस्तो बनाउन उनी प्रतिबद्ध रहेको बताउँछिन् ।

विद्यार्थी राजनीतिबाट केन्द्रसम्म

१६ वैशाख २०२० मा दाङको मध्यमवर्गीय परिवारमा जन्मिएकी संग्रौलाको बाल्यकाल दाङमै सामान्य रूपमा बित्यो । उनका बुबा टिकादत्त पन्त र आमा विद्यावती पन्त दुवै शिक्षक थिए । दस सन्तान जन्माएकी आमाले सन्तानको हेरचाहका लागि आफ्नो पेसा त्यागेकी थिइन् । ठूलो पारिवारिक जिम्मेवारीबीच हुर्किए पनि संग्रौला विद्यार्थी जीवनदेखि नै राजनीतिमा चासो राख्थिन् ।

कांग्रेसको विचार र सिद्धान्तबाट प्रभावित उनको परिवारकै कारण राजनीतिप्रतिको रुचि बढ्दै गयो । २०३६ सालको जनआन्दोलनबाट प्रभावित भएर उनी राजनीतिमा होमिएकी थिइन् । त्यसबेला कक्षा ९ मा अध्ययनरत संग्रौलाले बहुदलको पक्षमा दाङ पुगेका कांग्रेस नेताहरूलाई नेपाल विद्यार्थी संघका अन्य सदस्यसँग मिलेर स्वागत गर्ने अवसर पाएकी थिइन् । २०३७ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनले महेन्द्र बहुमुखी क्याम्पस, दाङमा अध्ययन गरेकी थिइन् ।

अध्ययनकै क्रममा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु सचिवमा निर्वाचित भइन्, जसले उनको राजनीतिक रुचि अझ बढायो । त्यसबेला कांग्रेसका नेता तथा कार्यकर्तासँग नजिक रहेर पार्टीको विचार, सिद्धान्त र राजनीतिक गतिविधि बुझ्ने मौका उनले पाएकी थिइन् । वैवाहिक जीवनमा बाँधिएपछि उनले महेन्द्र बहुमुखी क्याम्पस, मोरङमा केही समय अध्यापन गराइन् र पछि स्थायी शिक्षण सेवा छाडेर पुनः राजनीतिमा सक्रिय भइन् । विराटनगर, मोरङलाई घर बनाएकी संग्रौलाको राजनीतिक यात्रा स्थानीय तह र जिल्ला हुँदै पार्टीको केन्द्रीय तहसम्म पुगेको छ ।

पार्टी जिम्मेवारी र संसदीय अनुभव

सामाजिक न्याय र पछौटेपन अन्त्यका लागि आफू समर्पित रहेको बताउने संग्रौला नेपाली कांग्रेसको नवौँ महाधिवेशनमा महासमिति सदस्य बनेकी थिइन् । २०६४ सालमा कांग्रेसको मोरङ जिल्ला समिति उपसभापति तथा नेपाल महिला संघको अध्यक्ष भइन् । महिला अधिकार, समानता र राजनीतिक सहभागिताका विषयमा सक्रिय रहँदै उनले नेपाल महिला संघको नेतृत्वसम्म पुग्ने अवसर पाइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) सम्मको अध्ययन पूरा गरेकी छन् ।

पार्टीभित्रको प्रतिस्पर्धा, जिम्मेवारी प्राप्तिका कठिनाइ र अपेक्षाअनुसारको राजनीतिक मूल्यांकन नहुँदा पनि उनले आफ्नो सक्रियता निरन्तर राखिन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीमार्फत उनी प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । संसदमा रहँदा महिला अधिकार, सामाजिक न्याय र जनसरोकारका विषय उठाउने अवसर उनले पाइन् र त्यसपछि पनि पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहिन् ।

महिला आन्दोलन, प्राध्यापन र संगठनको अनुभव बटुलेकी संग्रौलाको रुचि महिला हकअधिकारका विषयसँगै परराष्ट्र मामिलाको अध्ययनमा पनि छ । महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्थाले आगामी दिनमा राजनीतिमा आउन चाहने महिलालाई थप हौसला मिल्ने उनको ठहर छ । महिलालाई महत्त्वपूर्ण पद र नेतृत्व तहमा नपुर्‍याई अघि बढ्न सकिँदैन भनी गरिएको यो सकारात्मक व्यवस्थाबाट सबै पार्टीले सिक्नुपर्ने उनले बताइन् । महिला नेतृत्वमा जानुपर्छ भन्ने जागरण र चेतना आउनुपर्छ भनेर उठेको ऊर्जालाई आफू सम्मान गर्ने उनको भनाइ छ ।