संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेकी नेपाली कांग्रेसकी नेता विनिता खड्कालाई हिरासतमा नराख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । थुनाबाहिर रहेरै उनको अनुसन्धान अघि बढाउनुपर्ने व्यवस्था अदालतले गरेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार सो आदेश जारी गरेको हो । प्रहरीले उनको म्याद थपका लागि गरेको निवेदनमाथिको सुनुवाइपछि अदालतले उनलाई नियन्त्रणमा नराखी अनुसन्धान गर्न निर्देशन दिएको हो ।
आदेशका क्रममा अदालतले दुई पक्षलाई औँल्याएको छ । पक्राउ परेका अन्य प्रतिवादीको बयानमा खड्कालाई जोड्ने कुनै तथ्य नभेटिएको र पीडित पक्षबाट परेको जाहेरीमा पनि उनले जाहेरवालाबाट रकम लिएको वा कसुरमा संलग्न रहेको देखिने कुरा उल्लेख नगरिएको अदालतको ठहर छ । यही आधारमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न नहुने अदालतले जनाएको छ ।
यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कासहित पाँच जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान थालेको छ । पक्राउ पर्नेहरूमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन् ।
खड्का नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदको उम्मेदवार थिइन् । महाधिवेशन चलिरहेको स्थलबाटै उनलाई पक्राउ गरिएको थियो ।







