पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईतर्फको पहिलो नियमित व्यावसायिक उडान बुधबार सुरु भएको छ । फ्लाई दुबईको यो उडानले कामदार, विद्यार्थी, पर्यटक र व्यवसायीलाई काठमाडौं धाउनु नपर्ने सहज विकल्प दिएको छ । पहिलो दुई दिनमै उत्साहजनक यात्रु संख्या देखिएकाले पोखरा विमानस्थल पश्चिम नेपालको अन्तर्राष्ट्रिय प्रवेशद्वार बन्न सक्ने संकेत मिलेको छ, यद्यपि उडानलाई दिगो बनाउन सबै सरोकारवालाको समन्वय चाहिने सुझाव सरोकारवालाहरूको छ ।
कामदार भिसामा दस वर्ष दुबई बसेर म्याग्दीकी सीता घर्ती बुधबार नेपाल फर्किइन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट ओर्लिएर बाहिर निस्कँदा उनी हर्षित देखिन्थिन् । एक वर्षअघि छुट्टीमा आएकी उनी यसपटक भने कामदार भिसा रद्द गरेर फर्किएकी हुन् । विमानस्थल नजिकै रहेको पोखरा फुलबारी पुगेर उनले छोराछोरी भेटिन् । परिवारसँगको पुनर्मिलनको खुसीमाथि पहिलो उडानमै आउन पाएकोमा उनी थप उत्साहित थिइन् ।
यो उडानबारे आफूले नेपालमै रहेका कामदारबाट जानकारी पाएको उनले बताइन् । पहिलो उडानका यात्रुलाई छुट दिइएको थाहा पाएपछि आफूले टिकट काटेको उनको भनाइ छ । छोराछोरी पोखरामै बस्ने भएकाले आफूलाई निकै सजिलो भएको र पोखराबाट बेनी, बागलुङलगायत वरपरका जिल्लामा पनि सहजै जान सकिने उनले बताइन् । काठमाडौं ओर्लेर पोखरा आउँदाको अनुभव र सिधैं पोखरा झर्दाको फरक उनले सजिलै महसुस गरेको सुनाइन् ।
सिधैं पोखरा आउनकै लागि दुबईमा १७ घण्टा ट्रान्जिट बिताएर यो उडान रोज्नेमा कन्दरा ब्यान्डका सदस्य पनि थिए । ब्यान्डका संगीतकार सुनील थापाका लागि यो यात्रा अन्य सांगीतिक भ्रमणभन्दा फरक बनेको छ । घरको दैलोमै ओर्लिन पाइने भएकाले लामो यात्राको थकान समेत महसुस नभएको उनले बताए । पोखरा आउँदै गर्दा जहाजबाट देखिएका हिमाल देखेर विदेशी पर्यटक दंग परेको पनि उनले सुनाए ।
ब्यान्डका गायक विवेक श्रेष्ठले भने यो यात्रालाई सपना पूरा भएसरह भएको प्रतिक्रिया दिए । वर्षौंदेखि विदेशमा सांगीतिक कार्यक्रम गर्दा पोखरा आउन काठमाडौंमै ओर्लिनुपर्ने बाध्यता रहेको तर यसपटक भने ऐतिहासिक उडानमै आउन रोजेको उनले बताए । यो विकल्पले सम्भावनाका धेरै ढोका खोलेको र सुरु भएको उडानलाई सबै मिलेर दिगो बनाउनुपर्ने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन्छ भन्ने विषयको प्रचारप्रसार गर्नुपर्ने र काठमाडौंलाई छलेर आउँदा पर्यटकले फरक दृश्य देख्न पाउने उनले बताए ।
फर्किने यात्रु मात्र नभई पोखराबाटै विदेश उड्नेहरू पनि उत्साहित थिए । बुधबार काठमाडौंको एउटै म्यानपावरमार्फत कामदार भिसामा दुबई जाने ३३ जनाको समूह पहिलो उडानमै पोखराबाट उडेको थियो । ती यात्रु दाङ र बुटवलदेखि सोलुखुम्बुसम्मका थिए । कामदार भिसामा दुबई जाँदै गरेका २१ वर्षीय सुनील भुजेलले काठमाडौं जानैपर्ने ठानेकै बेला पोखराबाटै अन्तर्राष्ट्रिय उडान पाउँदा आफूलाई भाग्यमानी सम्झिएको बताए । पोखरावासीका लागि खुसीको कुरा भएको र फर्किंदा पनि पोखरामै ओर्लिन चाहेको उनको भनाइ छ ।
दाङबाट दुबई जाँदै गरेका अर्जुन सुनारले पहिलो उडानमै दुबई जान पाउँदा खुसी लागे पनि देश छोड्नुपर्दा मन आत्तिएको बताए । सबै राम्रो भए फर्किंदा पोखरा नै आउने उनको भनाइ छ । विद्यार्थी भिसामा बेलायत जाँदै गरेका सुनील क्षेत्रीले पहिले पोखरावासीले काठमाडौं गएर दुबई हुँदै अन्य देश जानुपर्ने बाध्यता सम्झिए । अहिले सिधैं पोखराबाट जाँदा काठमाडौं जाने खर्च घटेको र आफन्त तथा साथीभाइले पोखराबाटै बिदाइ गर्न पाएको उनले बताए ।
पहिलो उडानको बोइङ ७३७ म्याक्स विमान नेपाली पाइलट सर्वजित यादवसहितको टोलीले पोखरा ल्याएको थियो । चालक दलमा नेपाली विनोद गिरी, रश्मि थापा र कुसुम तामाङ तथा दुई विदेशी सदस्य थिए । १६६ सिट क्षमताको जहाज बुधबार १३३ यात्रु लिएर पोखरा आएको थियो भने १५२ यात्रु लिएर दुबई फर्किएको थियो । बिहीबार १३५ यात्रु पोखरा आएका थिए भने १४६ जना दुबईतर्फ प्रस्थान गरेका थिए ।
व्यवसायीको अपेक्षा र दिगोपनाको चुनौती
फ्लाई दुबईलाई पोखरा ल्याउने प्रयासमा खटिएका पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठका लागि बुधबारको दिन लामो संघर्षको फल हो । विमानस्थल निर्माणका क्रममा आफूहरूले धेरै संघर्ष गर्नुपरेको र अनसनसम्म बस्नुपरेको उनले सम्झिए । विमानस्थल बने पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन, धेरै प्रयासपछि पोखरा–दुबई नियमित उडान सुरु भएको र यो सबैका लागि गर्वको विषय भएको उनले बताए ।
पहिलो र दोस्रो दिनको यात्रु संख्याले आफूलाई थप उत्साहित बनाएको श्रेष्ठले बताए । अपेक्षाभन्दा बढी यात्रु पाउँदा पर्यटन व्यवसायीमा ऊर्जा र उत्साह थपिएको उनको भनाइ छ । हाल दैनिक उडान भइरहेको र यात्रुको माग बढेमा दैनिक दुई उडान गर्ने सम्भावना रहेको उनले बताए । अन्य वायुसेवा कम्पनीलाई पनि पोखराबाट उडान गर्न आकर्षित गर्नेगरी प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरेली पर्यटन व्यवसायी, अन्य व्यवसायी, स्थानीय तह र प्रदेश सरकारबीच समन्वय हुनुपर्ने सुझाव दिए । सबैको समन्वयमा यो उडानलाई सफल बनाएर लैजान सके नेपालमा सुनौलो इतिहास रचिने उनको भनाइ छ ।
नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीकी अध्यक्ष संगीता पौडेलले गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा जाने कामदार, अध्ययनका लागि विदेश जाने विद्यार्थी, गैरआवासीय नेपाली र उनीहरूका आफन्त तथा प्याकेजमा घुम्न जाने र आउने पर्यटकले मात्रै पोखरा रोजे पनि फ्लाई दुबईको दिगोपनामा समस्या नहुने बताइन् । रुकुम पूर्व र रुकुम पश्चिमदेखि डोल्पासम्मका लागि पोखरा पायक पर्ने ठाउँ भएको र लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँचीसहित चितवनसम्मका यात्रुका लागि पनि पोखरा विमानस्थल सुविधाजनक रहेको उनले बताइन् । यसलाई पश्चिम नेपालको अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा. मुकेश डंगोलले पनि दिगोपनाकै चुनौती औंल्याउँदै सबै सरोकारवालाबीच हातेमालो गर्दै उडानलाई नियमित बनाउन समन्वयको आह्वान गरे । चुनौतीसँगै सम्भावना पनि रहेको र फ्लाई दुबईको उडान सुरु भएपछि विभिन्न वायुसेवा कम्पनीले चासो देखाएको उनले बताए । यसलाई सफल बनाउन सके अन्य वायुसेवाले पनि सेवा सञ्चालन गर्ने विश्वास उनले व्यक्त गरे ।







