काठमाडौं। एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सले क्याम्ब्रिज इङ्लिससँगको साझेदारीमा आयोजना गरेको क्याम्ब्रिज इङ्लिस नेतृत्व सम्मेलन २०२६ मा विद्यालयका नेतृत्वकर्ता, प्रिन्सिपल तथा शिक्षकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) युगमा अङ्ग्रेजी भाषा शिक्षाका विषयमा छलफल गरेका छन्।
एआई युगमा अङ्ग्रेजी शिक्षण
‘रिडिफाइनिङ इङ्लिस एजुकेशन: एम्पावरिङ लर्नर-सेन्टर्ड क्लासरुम्स इन द एआई इरा’ भन्ने विषयमा आयोजित सम्मेलनले विद्यार्थीकेन्द्रित शिक्षण अभ्यासलाई मजबुत बनाउने र २१औँ शताब्दीको कक्षाकोठाका लागि अङ्ग्रेजी भाषा शिक्षालाई अनुकूल बनाउने विषयमा केन्द्रित रहेको थियो।
सम्मेलनमा क्याम्ब्रिज इङ्लिसकी शिक्षा विशेषज्ञ हेलेन केन्योनले मुख्य वक्ताका रूपमा बोल्दै अङ्ग्रेजी भाषा शिक्षण, मूल्याङ्कन, शिक्षक विकास, समावेशी सिकाइका लागि डिजिटल उपकरणको प्रयोग र शिक्षामा एआईको भूमिकाबारे चर्चा गरिन्। उनले एआईलाई शिक्षणमा सहयोगी साझेदारको रूपमा अघि बढाउनुपर्ने धारणा राखिन्।
राजदूत फेनको मन्तव्य
सम्मेलनका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाल र बेलायतबीचको दीर्घकालीन शैक्षिक सम्बन्धलाई स्मरण गर्दै त्यसको प्रशंसा गरे। उनले क्याम्ब्रिज विश्वविद्यालयको अन्तर्राष्ट्रिय प्रतिष्ठाबारे चर्चा गर्दै क्याम्ब्रिज इङ्लिस र एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सबीच बढ्दो साझेदारीलाई स्वागत गरे।
उत्कृष्ट विद्यालय पुरस्कृत
कार्यक्रममा क्याम्ब्रिज इङ्लिस शैक्षिक साझेदार (सीइइपी) कार्यक्रमअन्तर्गतका विद्यालयहरूलाई मान्यता दिइएको थियो। अङ्ग्रेजी भाषा शिक्षामा उत्कृष्ट योगदान पुर्याएका साझेदार विद्यालयहरूलाई पुरस्कृत गरियो।
तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुल (बिर्तामोड)
इस्ट होराइजन स्कुल (धुलाबारी)
कस्तूरी एकेडेमी (इटहरी)
एसिया प्यासिफिक स्कुल
भ्याली पब्लिक हाई सेकेन्डरी स्कुल
एन्जल्स हार्ट सेकेन्डरी स्कुल
सो अवसरमा एसिया प्यासिफिक स्कुल र तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले प्रस्तुत गरेका केस स्टडीहरूमा क्याम्ब्रिज इङ्लिस कार्यक्रमको कार्यान्वयन र नवीन कक्षाकोठा अभ्यासलाई उजागर गरिएको थियो।
कार्यक्रममा बोल्दै एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सका सह-संस्थापक डा. रोशन राठीले अन्तर्राष्ट्रिय साझेदारी, व्यावसायिक विकास र विश्वव्यापी स्तरका सिकाइ कार्यक्रममार्फत नेपालमा अङ्ग्रेजी भाषा शिक्षामा सुधार ल्याउने प्रतिबद्धता दोहोर्याए।
सम्मेलन शिक्षा क्षेत्रका अगुवाहरूबीच छलफल र नेटवर्किङ सत्रसँग सम्पन्न भएको थियो। सहभागीहरूले गुणस्तरीय अङ्ग्रेजी भाषा शिक्षामार्फत आत्मविश्वासी, सिर्जनशील र भविष्यका लागि तयार विद्यार्थी बनाउने प्रतिबद्धता व्यक्त गरे।
