मुख्य सामग्रीमा जानुहोस्

भ्रष्टाचार, कुशासन र असमानता हटाउन सबै एकजुट हुनुपर्ने प्रधानमन्त्री शाहको आग्रह

विजयादशीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृतिलाई आसुरी प्रवृत्तिका रूपमा चित्रण गरेका छन्। उनले हरेक नागरिकलाई सरकार आफ्नै लागि रहेको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
भ्रष्टाचार, कुशासन र असमानता हटाउन सबै एकजुट हुनुपर्ने प्रधानमन्त्री शाहको आग्रह
Nagariknetwork

विजयादशीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले देशमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृतिविरुद्ध सबै एकजुट हुनुपर्ने बताएका छन्। यी समस्यालाई उनले आसुरी प्रवृत्तिका रूपमा व्याख्या गरेका छन्।

सन्देशमा प्रधानमन्त्री शाहले प्रत्येक नागरिकले सरकार आफ्नै हितका लागि छ भन्ने महसुस गर्न सक्ने अवस्था निर्माण गर्नुपर्ने उल्लेख गरेका छन्। यी विकृति र विसङ्गति अन्त्य गर्न इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत अनिवार्य रहेको उनको भनाइ छ। परिवर्तनका लागि सोच मात्र होइन, व्यवहार पनि बदल्नुपर्नेमा उनले जोड दिएका छन्।

विजयादशी असत्यमाथि सत्यको विजयको उत्सव भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस पर्वले मानिसभित्र रहेको अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा यो पर्व मनाइने उनले स्मरण गरेका छन्।

विविधतामा एकता जोड्ने पर्व

भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई विजयादशीले एउटै सूत्रमा बाँध्ने विश्वास प्रधानमन्त्री शाहले व्यक्त गरेका छन्। वर्षौँदेखि भेटघाट हुन नसकेका साथीभाइ तथा आफन्तसँग आत्मीयता साट्ने अवसर पनि यस पर्वले दिने उनको भनाइ छ।

सन्देशमा उनले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराको उल्लेख गर्दै टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्ने चलनको समेत चर्चा गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै प्रधानमन्त्री शाहले आ-आफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार पर्व मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साट्न आग्रह गरेका छन्।