कास्की कारागारमा जन्मकैदको सजाय भोगिरहेका एक कैदी भर्याङ चढेर फरार भएको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा सजाय काटिरहेका ती कैदी केही दिनपछि पुनः प्रहरीको नियन्त्रणमा आएका छन्।
पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय सन्तोष जलारी गत असोज ३१ गते राति करिब २ बजे कारागारबाट भागेका थिए। बिजुली मर्मतका लागि कारागार परिसरमा ल्याइएको भर्याङमार्फत उनी बाहिर निस्किएका थिए। फरार भएको तीन दिनपछि, कात्तिक ३ गते, प्रहरीले उनलाई पोखराकै एक होटलबाट पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले कैदी जलारी योजनाबद्ध तरिकाले भागेको बताएका छन्। अनुसन्धानका क्रममा आफूले करिब एक महिना अघिदेखि कारागारबाट भाग्ने योजना बनाएको जलारीले स्वीकार गरेको उनको भनाइ छ।
प्रहरी उपरीक्षक कार्कीका अनुसार जलारीले कारागारभित्रै पसल चलाएर बस्ने गरेका थिए। बिजुली मर्मतका लागि भोलिपल्ट पनि भर्याङ आवश्यक पर्ने भन्दै उनले त्यो आफ्नै पसल रहेको स्थानमा राखेका थिए र मध्यरातमा त्यही भर्याङ चढेर भागेका थिए। कैदीका नाइके तथा अन्य कैदीलाई समेत झुक्क्याएर उनी बाहिर निस्कन सफल भएको प्रहरीको भनाइ छ।
सुरक्षामा प्रश्न
कारागारको सुरक्षामा खटिएका प्रहरी र कैदीका नाइकेको ध्यान पर्याप्त नपुग्दा जलारी भाग्न सफल भएको प्रहरी उपरीक्षक कार्कीले बताए। कारागारबाट यसरी कैदी भाग्ने घटना बिरलै हुने भन्दै उनले यो घटनाले कारागार सुरक्षाको संवेदनशीलताबारे सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको उल्लेख गरे।
कारागारका जेलर घनश्याम गौतमका अनुसार भागेको कुरा भोलिपल्ट बिहान कैदी गणना गर्ने क्रममा मात्र खुलेको थियो। यस्तो घटनापछि कारागार सुरक्षाबारे प्रश्न र चासो उठ्नु स्वाभाविक भएको उनको भनाइ छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले जलारीलाई पक्राउ गरेको हो। प्रहरीको सक्रियतामा उनी दुई दिनभित्रै नियन्त्रणमा आएको जेलर गौतमले जानकारी दिए।
पक्राउपछि जलारीविरुद्ध कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले बताए। ज्यान र डाँका मुद्दामा उनलाई यसअघि नै २५ वर्ष कैदको सजाय भइसकेको र पछिल्लो मुद्दामा थप पाँच वर्ष जेल सजाय हुन सक्ने उनले बताए।







