मनाङमा वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेकाले विपद्जन्य घटना घट्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय मनाङले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। कात्तिक १२ र १३ गतेका लागि मौसम बिग्रने अनुमान गरिएपछि प्रहरीले सचेतना कार्यक्रम नै सञ्चालन गरेको हो।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार मंगलबार चामे गाउँपालिका–४ स्थित चामे बजार क्षेत्रमा माइकिङ गरी स्थानीय जनसमुदायलाई सम्भावित जोखिमबारे जानकारी दिइएको छ। वर्षा तथा हिमपातका कारण आउन सक्ने विपद्का बारेमा जानकारी गराउँदै प्रहरीले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
मौसमसँग जोडिएका सम्भावित विपद्बाट पर्न सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बजार क्षेत्रमा सचेतना दिइएको प्रहरीले जनाएको छ। स्थानीयलाई सतर्क रहन र कुनै असहज अवस्था आउन नदिन तयारी अवस्थामा बस्न पनि प्रहरीको आग्रह छ।







