हेटौंडा — बागमती प्रदेशसभाका अधिकांश एमाले सांसदहरूले संसदीय दलको नेतृत्व फेर्ने प्रस्तावमा समर्थन जनाएका छन्। १६ जना सांसदहरूले हस्ताक्षर गरी वर्तमान संसदीय दलका नेता जगन्नाथ थापालियालाई हटाएर किरण थापा मगरलाई नयाँ नेता बनाउन माग गरेका हुन्।
बागमती प्रदेश संसदीय दलको विधानको भाग ५ को धारा २५ बमोजिम प्रस्ताव दर्ता गरिएको जनाइएको छ। थापालियाको नेतृत्वप्रति असन्तुष्टि रहेको भन्दै सांसदहरूले नेतृत्व फेरबदलको प्रस्ताव अघि सारेका हुन्। प्रस्तावमा उनको हालसम्मको योगदानलाई समेत स्वीकार गरिएको छ।
प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरू
प्रस्तावमा हस्ताक्षर गर्नेमा आनन्दकुमार श्रेष्ठ, किरण थापा मगर, कृष्णप्रसाद सिलवाल, जयराम थापा, दिनेशचन्द्र देवकोटा, प्रेमभक्त महर्जन, विन्दु श्रेष्ठ, भरतबहादुर केसी, भारतीकुमारी पाठक, मैली तामाङ, मायाकुमारी कार्की, रघुनाथ महर्जन, रमेश्वर श्रेष्ठ, शकुन्तला श्रेष्ठ, हरिप्रसाद सापकोटा र ज्ञानबहादुर तामाङ छन्।
मौखिक समर्थन र असन्तुष्टि
प्रस्तावअनुसार उपसभामुख अप्सरा चापागाईं र मधुसूदन पौडेलले पनि नेतृत्व फेरबदलका लागि मौखिक समर्थन व्यक्त गरेका छन्। तर उनीहरूले प्रस्तावमा हस्ताक्षर भने गरेका छैनन्।
त्यस्तै, प्रस्तावमा हस्ताक्षर नगर्नेमा थापालिया, एकलाल श्रेष्ठ, शुक्माया तामाङ, बालकुमारी विश्वकर्मा, थुला थामी, केशव पोखरेल र उर्मिला सुनुवार रहेका छन्।
आन्तरिक चुनौती
यो प्रस्तावपछि बागमती प्रदेशको एमाले संसदीय दलको नेतृत्व आन्तरिक चुनौतीमा परेको छ। नयाँ नेता चयनका लागि संसदीय दलको विधानले तोकेको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।






