गत साउन, भदौ र असोज महिनाका बीचमा गरी १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका छन् । गृहमन्त्रालयले हालै सार्वजनिक गरेको तीन महिनाको त्रैमासिक प्रगति विवरणमा यो तथ्यांक समेटिएको हो ।
मन्त्रालयको विवरणअनुसार साउन महिनामा ५२ जना विदेशी नागरिकलाई नेपालबाट बाहिर पठाइएको थियो भने भदौमा ५९ जना निष्कासनमा परे । असोज महिनामा सबैभन्दा बढी ६४ जना विदेशी नागरिक निष्कासनको प्रक्रियामा परेका देखिन्छन् ।
यी नागरिक कुन कुन देशका हुन् र के कस्ता कारणले उनीहरूलाई नेपालबाट निष्कासन गरिएको हो भन्ने विषयमा सरकारले विस्तृत विवरण सार्वजनिक गरेको छैन । गृहमन्त्रालय मातहतको सीमा तथा अध्यागमन शाखाबाट सम्पादित कामको सिलसिलामा उक्त तथ्यांक प्रतिवेदनमा राखिएको मन्त्रालयले जनाएको छ ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ ले सार्वजनिक निकायहरूलाई आफ्नो कामकारबाहीको विवरण निश्चित अवधिभित्र अद्यावधिक गरी स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । सोही कानुनी व्यवस्थाअनुरूप सरकारी निकायहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण सार्वजनिक गर्ने गरेका छन् ।
यसअघि पनि गृहमन्त्रालयले यस्तै प्रकृतिका त्रैमासिक प्रतिवेदनमार्फत सीमा तथा अध्यागमन सम्बन्धी कामको जानकारी सार्वजनिक गर्दै आएको छ । पारदर्शिता, जवाफदेहिता र सरकारी कामकारबाहीलाई खुला बनाउने उद्देश्यसहित सार्वजनिक गरिने यस्ता विवरणमा निष्कासनसम्बन्धी तथ्यांक पनि समावेश हुने गरेको छ ।







