कात्तिक २३, नयाँ दिल्ली। दिवालीको रात भारतका विभिन्न सहरमा पटाका पड्किएर तथा अन्य कारणले भएका आगलागीमा परी २३ जनाको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार घटनाहरूमा धेरै व्यक्ति घाइते भएका छन् भने केही बेपत्ता छन्।
सबैभन्दा ठूलो मानवीय क्षति मध्य प्रदेशमा भएको छ। त्यहाँ छुट्टाछुट्टै तीन घरमा आगो लाग्दा १३ जनाले ज्यान गुमाएका छन्। मध्य प्रदेशका ती घटनामा मृत्यु हुनेमा ५ महिला, ३ पुरुष र ४ बालबालिका रहेको बताइएको छ।
कटनी जिल्लामा एउटै परिवारका ६ जनाको आगलागीमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा दुई महिनाको शिशुसमेत तीन बालबालिका छन्। यसैगरी सिवनी जिल्लामा एक सुनचाँदी व्यवसायीको घर र पसल जलेर खरानी हुँदा १६ वर्षीय किशोरसमेत ६ जनाले ज्यान गुमाएका छन्।
महाराष्ट्र, राजस्थान र दिल्लीका घटना
महाराष्ट्रको धाराशिव जिल्लामा एउटै घरमा बसोबास गर्ने एक परिवारका ६ जनाको मृत्यु भएको छ। मुम्बईको लोखण्डवाला क्षेत्रमा भएको अर्को आगलागीमा एक जनाको ज्यान गएको छ।
राजस्थानको पालीमा पटाका पसलमा आगो लाग्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। सो घटनामा तीन पसल र कैयौँ दुईपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन्।
दिल्लीको नरेलामा भने रकेट पटाका पेटमा लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ।
पुणेमा ६३ आगलागी, मानवीय क्षति छैन
महाराष्ट्रको पुणेमा दिवालीको रात आगलागीका ६३ वटा घटना भएका छन्, तर त्यहाँ कुनै मानवीय क्षति नभएको खबर छ। वडगाउँ शेरीस्थित एउटा अपार्टमेन्टमा आगो लागेपछि दमकल टोली घटनास्थल पुगेको थियो।
ठाणेमा रहेको १७ तले भवनमा पनि आगलागी भएको छ, तर त्यहाँ कोही घाइते भएको जानकारी छैन। मुम्बईको डोंगरी क्षेत्रमा आगो लाग्दा कैयौँ पसल र सुकुम्बासी बस्ती जलेका छन्। दादरको कामगार रंगशालामा लागेको आगो अग्निनियन्त्रकहरूले १७ मिनेटमै नियन्त्रणमा लिएका थिए।
जम्मूको नेहरू मार्केटस्थित गोदाम र बजारमा आगो लाग्दा १२ भन्दा बढी पसल जलेका छन्। नागपुरमा टीभीएस सोरुममा आगलागी हुँदा कैयौँ दुईपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन्। उत्तर प्रदेशको बान्दामा एउटा कबाडी पसलमा आगो लाग्दा करिब २० देखि २५ लाख भारुबराबरको क्षति भएको छ।
असमको जोनाईस्थित सिमेन चापोरी व्यावसायिक क्षेत्र, मुम्बईको विद्याविहार, सिक्किमको गान्तोकस्थित सरकारी भवन र गाजियाबादको क्रसिङ रिपब्लिक क्षेत्रमा पनि आगलागीका घटना भएका छन्। ती घटनालगत्तै दमकल विभाग र प्रहरीका टोली राहत तथा उद्धारकार्यमा खटिएका थिए।







