मुख्य सामग्रीमा जानुहोस्

कुकुर तिहारमा नेपाली सेनाको विशेष ‘डग शो’, भैरव वाहन गुल्ममा कुकुरको पूजा र सीप प्रदर्शन

नेपाली सेनाले कुकुर तिहारका अवसरमा मध्यपुर थिमिको भैरव वाहन गुल्ममा ‘डग शो’ आयोजना गरेको छ। कार्यक्रममा कुकुर पूजासँगै तालिमप्राप्त कुकुरले खोज, पहिचान, ट्र्याकिङ र सुरक्षासम्बन्धी सीप प्रदर्शन गरेका थिए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
कुकुर तिहारमा नेपाली सेनाको विशेष ‘डग शो’, भैरव वाहन गुल्ममा कुकुरको पूजा र सीप प्रदर्शन
Online Khabar

कुकुर तिहारका अवसरमा नेपाली सेनाले मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार विशेष ‘डग शो’ आयोजना गरेको छ। कार्यक्रममा कुकुरहरूको पूजा गरिएको मात्र नभई तालिमप्राप्त कुकुरले आफ्नो कला र कौशल पनि प्रस्तुत गरेका थिए।

प्रदर्शनीका क्रममा सेनाका तालिमप्राप्त कुकुरले खोज तथा पहिचान, ट्र्याकिङ, सुरक्षा र शंकास्पद वस्तु पहिचानलगायतका सीप देखाएका थिए। नेपाली सेनाको प्रवन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले भने सीमित स्रोत र साधनका बीच कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण पक्ष रहेको बताए।

कुकुरलाई सेनाको महत्वपूर्ण सहयोगी शक्ति भन्दै उनले यसको प्रयोगबाट सुरक्षा तथा खोजी कार्यमा जनशक्तिको प्रभावकारिता बढ्ने उल्लेख गरे। पेट्रोलिङ, सुरक्षा, ट्र्याकिङ, खोजी तथा शंकास्पद व्यक्ति र विस्फोटक पदार्थ पहिचानमा कुकुरको भूमिका उल्लेखनीय रहेको उनको भनाइ छ।

‘फोर्स मल्टिप्लायर’ को भूमिका

उपरथी पाठकका अनुसार धेरै जनशक्ति परिचालन गर्नुपर्ने ठाउँमा पनि एउटै कुकुरले काम सम्पन्न गर्न सक्छ। ट्र्याकिङ र खोजी, आक्रमण तथा पक्राउजस्ता अभियानमा पनि कुकुर उपयोगी हुने र यसले मनोवैज्ञानिक प्रभाव पार्ने उनले बताए। यसले शत्रुपक्षमा मानसिक दबाब सिर्जना गर्ने भूमिका पनि खेल्ने उनको भनाइ छ।

युद्ध तथा जंगलमा खटिने सैनिकको हौसला बढाउनसमेत कुकुरले सहयोग गर्ने उनले उल्लेख गरे। मानिसको तुलनामा कुकुरमा गन्ध पहिचान गर्ने क्षमता धेरै गुणा बढी हुने भएकाले टाढै रहेको शंकास्पद व्यक्ति वा वस्तु पहिचान गर्न सहज हुने उनले बताए। सोही कारण कुकुरलाई तालिम दिने आवश्यकता महसुस गरिएको उनको भनाइ छ।

परम्परा र सहअस्तित्व

नेपाली सेनाले कुकुरलाई निष्ठा, इमान्दारिता र बफादारिताको प्रतीक मान्दै हरेक वर्ष कुकुर तिहारमा पूजा गर्दै आएको जनाएको छ। परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताको संरक्षण गर्नुका साथै मानव र कुकुरबीचको मित्रता एवं सहअस्तित्वलाई सम्मान गर्ने उद्देश्यले पनि यो परम्परा निरन्तर रहेको सेनाको भनाइ छ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख, वडा अध्यक्षहरू, सैनिक अधिकारी, पशु चिकित्सक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।