इथियोपियाको अम्हारा क्षेत्रमा रहेको विस्थापित शिविरमा बिहीबार भएको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको ज्यान गएको तीन प्रत्यक्षदर्शीले शुक्रबार जानकारी दिएका छन्। एएफपीसँग कुरा गर्दै उनीहरूले मारिनेमध्ये एक गर्भवती महिला पनि रहेको बताएका छन्।
नाम नखुलाउने सर्तमा बोलेका एक प्रत्यक्षदर्शीका अनुसार शिविरमा लगातार चारवटा ड्रोन आक्रमण भएका थिए। शिविर परिसरमै १४ जनाको शव गाडिएको र उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको उनले बताए। सोही शिविरका अन्य दुई बासिन्दाले भने बालबालिकासहित क्रमशः १४ र १५ जनाको ज्यान गएको जानकारी दिएका छन्।
विद्यार्थीहरू विद्यालयबाट घरतर्फ फर्किरहेका बेला आक्रमण भएको प्रत्यक्षदर्शी अहमदले बताए। आफ्नी बहिनीको पनि ज्यान गएको र शरीरका अङ्ग छरिएकाले उनको शवसमेत भेट्न नसकिएको उनले सुनाए।
सशस्त्र द्वन्द्वसम्बन्धी तथ्याङ्क संकलन तथा विश्लेषण गर्ने संस्था एकल्डका अनुसार उक्त घटनामा १६ देखि २३ जनासम्मको मृत्यु भएको छ भने अज्ञात संख्यामा मानिस घाइते भएका छन्। मृतकमा बालबालिका परे–नपरेको विषयमा भने संस्थाले केही खुलाएको छैन।
दोहोरिँदै ड्रोन आक्रमण
ती प्रत्यक्षदर्शीका अनुसार सो शिविर अदिस अबाबाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा पर्छ। शिविरमा आश्रय लिएकाहरू अम्हारासँग जोडिएको र इथियोपियामा सबैभन्दा बढी जनसंख्या भएको ओरोमिया क्षेत्रका बासिन्दा हुन्।
संयुक्त राष्ट्रसंघले जुलाईमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार अम्हारा इथियोपियाको दोस्रो धेरै जनसंख्या भएको क्षेत्र हो, जहाँ दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन्। यस क्षेत्रमा संघीय सेनाले पटकपटक ड्रोन आक्रमण गर्दै आएको छ र द्वन्द्वका कारण करिब पाँच लाख मानिस विस्थापित भएका छन्।
अदिस अबाबाले आतङ्कवादी संगठन घोषणा गरेको ओरोमो लिबरेसन आर्मी (ओएलए) ले आठ वर्षभन्दा लामो समयदेखि सो क्षेत्रमा संघीय सेनाविरुद्ध सशस्त्र संघर्ष गर्दै आएको छ।
यस घटनाबारे एएफपीले जिज्ञासा राख्दा इथियोपियाली संघीय सेनाका प्रवक्ताले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।







