मुख्य सामग्रीमा जानुहोस्

जेन्सेन ह्वाङसँग जोडिएको विवादले एनभिडियाको सेयरमा तीव्र गिरावट, लगानीकर्ताको नजर तेस्रो त्रैमासिक नतिजामा

अमेरिकी चिप निर्माता एनभिडियाका सीईओ जेन्सेन ह्वाङसँग जोडिएको विवादले कम्पनीको सेयर मूल्यमा ठूलो दबाब पारेको छ । सोमबारको कारोबारमा कम्पनीको बजार पूँजीकरण १ खर्ब ९० अर्ब डलरले घट्दा लगानीकर्ताको ध्यान नोभेम्बर १७ को…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
जेन्सेन ह्वाङसँग जोडिएको विवादले एनभिडियाको सेयरमा तीव्र गिरावट, लगानीकर्ताको नजर तेस्रो त्रैमासिक नतिजामा
Online Khabar

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङसँग जोडिएको विवादका कारण कम्पनीको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ । एक चिनियाँ महिलासँग उनको व्यक्तिगत निकटता रहेको र ती महिला चिनियाँ गुप्तचर निकायको सहयोगी भएर अमेरिकाविरुद्ध जासुसी गतिविधिमा संलग्न रहेको आरोप अमेरिकी पक्षबाट लागिरहेको छ ।

दुई साताको अवधिमा कम्पनीको एक सेयर २ सय १७ अमेरिकी डलरबाट १ सय ७८ डलरमा झर्दा करिब १८ प्रतिशत मूल्य घटेको छ । सोमबार अमेरिकी बजारमा एनभिडियाको सेयर ४.३ प्रतिशतले घट्दा कम्पनीको बजार पूँजीकरण १ खर्ब ९० अर्ब डलरले क्षय भएको रोयटर्सले जनाएको छ ।

विवादको केन्द्रमा एलिस ह्वाङ नामकी चिनियाँ व्यवसायी छिन्, जससँग ह्वाङको निकट सम्बन्ध रहेको द न्युयोर्क टाइम्सले गत अक्टोबरको अन्त्यतिर दाबी सार्वजनिक गरेको थियो । अमेरिकी गुप्तचर निकायले ती महिलालाई चीनका लागि सूचना संकलन गर्ने व्यक्तिका रूपमा पहिचान गरेको समाचारमा उल्लेख छ । एलिस सिंगापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिड इन्टरनेसनलकी प्रमुख लगानीकर्ता हुन् र उक्त कम्पनीको व्यवस्थापकीय नेतृत्वमा पनि रहेकी थिइन् ।

एनभिडियाले मेगास्पिडलाई आफ्नो आधिकारिक क्लाउड साझेदारको सूचीमा राखेको छ भने उक्त कम्पनीले एनभिडियाका अत्याधुनिक एआई चिप खरिद गर्दै आएको छ ।

प्रतिबन्धित चिपको अनुसन्धान

अमेरिकी अधिकारीहरूले मेगास्पिडमार्फत प्रतिबन्धित चिप चीनसम्म पुर्‍याइएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेका छन् । अमेरिकी गुप्तचर निकायको निष्कर्षलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणमा एलिसले जेन्सेनसँगको निकट सम्बन्धकै आधारमा सूचना संकलन गरेको आशंका गरिएको छ ।

तर ती आरोप पुष्टि भइसकेका छैनन् । चीनले आरोपलाई आधारहीन भन्दै अस्वीकार गर्दै आएको छ भने अमेरिकी प्रतिनिधिसभाको समितिले ह्वाङसँग जवाफ मागेको छ ।

पछिल्लो प्रकरणले सेयरमा थप बिक्री दबाब सिर्जना गरे पनि गिरावट यही विवादबाट मात्र सुरु भएको भने होइन । विगत एक महिनामा कम्पनीको सेयर मूल्य ४७ प्रतिशत घटिसकेको छ । एआई क्षेत्रमा भइरहेको विशाल लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुनेमा लगानीकर्ताको आशंका, प्रतिस्पर्धी प्रविधि कम्पनीहरूले आफ्नै एआई चिप विकास गर्नु र चिप बिक्रीसम्बन्धी अनिश्चितताले पनि सेयरमा यसअघि नै चाप पार्दै आएको थियो ।

कम्पनीका ठूला निर्णय ह्वाङ आफैंले लिने गरेकाले उनलाई सञ्चालक समितिले हटाए कम्पनीलाई झन् असर पर्ने आकलनका बीच लगानीकर्ता अन्योलमा देखिएका छन् ।

नोभेम्बर १७ को प्रतीक्षा

अब लगानीकर्ताको ध्यान नोभेम्बर १७ मा सार्वजनिक हुने कम्पनीको तेस्रो त्रैमासिक वित्तीय नतिजामा केन्द्रित हुनेछ । एआई चिपको माग, आम्दानी, नाफा तथा आगामी अवधिको व्यावसायिक प्रक्षेपणले कम्पनीको वास्तविक व्यावसायिक अवस्थाबारे थप संकेत दिनेछ ।