काठमाडौं, २४ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार टीयू मैदानमा भएको खेलमा सुदूरपश्चिम रोएल्स १२० रनमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर यति रन बनायो र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्ससामु जितका लागि १२१ रनको लक्ष्य राखेको छ ।
सुदूरपश्चिमको इनिङ्समा ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन जोडे । उनले २३ बलको सामना गर्दै दुई चौका र दुई छक्का प्रहार गरे । थरिन्दु रत्नायकेले २८ बलमा एक चौका र दुई छक्कासहित नटआउट २७ रन बनाए । आरिफ शेखले ११ रन जोड्दा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १०-१० रन बनाए ।
जनकपुरका बलरहरूले सुरुवाती ओभरदेखि नै दबाब कायम राखे । कप्तान हर्मीत सिंहले चार ओभर बलिङ गर्दै १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले एक-एक विकेट हात पारे ।
यही खेलबाट एनपीएलमा डेब्यु गरेका आइरिस खेलाडी टेक्टरले चार ओभरमा जम्मा नौ रन मात्र खर्चिए ।
सुदूरपश्चिमका ओपनर जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए, जुन उसको इनिङ्सको सबैभन्दा ठूलो साझेदारी रह्यो । त्यसपछि नियमित अन्तरालमा विकेट पतन हुँदा टोली ठूलो स्कोर बनाउन सकेन । टसका क्रममा सुदूरपश्चिमका कप्तानले १७० रनको लक्ष्य राख्ने बताए पनि जनकपुरका बलरहरूले त्यसलाई साकार हुन दिएनन् ।







