पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीले आफ्ना कानुन व्यवसायीसँग भेटघाट गर्न पाउने भएका छन्। इस्लामाबाद उच्च अदालतले दुवैलाई वकिलसँग भेट्न अनुमति दिँदै रावलपिण्डीको अदियाला जेल प्रशासनलाई एक घण्टासम्मको भेटघाट व्यवस्था मिलाउन आदेश दिएको छ।
मुख्य न्यायाधीश सरफराज डोगरको अध्यक्षतामा रहेको दुई सदस्यीय इजलासले १९ करोड पाउन्डको अल कादिर ट्रस्ट प्रकरणमा सुनाइएको सजायविरुद्ध दायर भएको पुनरावेदनमाथिको सुनुवाइका क्रममा उक्त आदेश जारी गरेको हो।
सुनुवाइका दौरान अदालतले इमरान खानका वकिल सलमान सफदरलाई कानुनअनुसार नै भेटघाटको अनुमति दिइएको स्पष्ट पारेको थियो। तर इमरानसँग थप पाँच व्यक्तिलाई पनि भेट्न दिनुपर्ने माग अब नराख्न इजलासले सचेत गराएको छ।
इजलासका प्रमुखले केही दिनअघि मात्रै इमरान खान र बुशरा बीबीलाई भेटिसकेको अवस्थामा पुनः भेट्ने इच्छा किन राखेको भनी सफदरसँग जिज्ञासा राखेका थिए। जवाफमा सफदरले अघिल्लो पटक पर्याप्त समय नभएकाले आफ्ना पक्षसँग फेरि भेट्नु आवश्यक परेको बताएका थिए।
अदालतले सुरुमा बुशरा बीबी र इमरान खानलाई उनका वकिल सरदार लतिफ खोसासँग भेट्न अनुमति दिएको थियो। त्यसपछि सलमान सफदरलाई पनि इमरान खानसँग भेट्ने अनुमति दिइएको हो।
बुशरा बीबीको स्वास्थ्यबारे पनि सुनुवाइमा कुरा
सुनुवाइका क्रममा बुशरा बीबीको स्वास्थ्य अवस्थाको विषयसमेत उठेको थियो। बुशराले आफूलाई दिएको जानकारी उद्धृत गर्दै सफदरले छ महिनाअघि जेल प्रशासनले शल्यक्रियाका लागि अस्पताल लगेको र आगामी नोभेम्बर १५ मा पुनः शल्यक्रिया गर्नुपर्ने अदालतलाई जानकारी गराएका थिए।
उनले बुशरा बीबीको स्वास्थ्य परीक्षणका लागि मेडिकल बोर्ड गठन गर्न पनि माग गरेका थिए। जेल प्रशासनले बुशराको आँखामा समस्या रहेको सर्वोच्च अदालतमा समेत स्वीकार गरेको उनको भनाइ छ।







