धनकुटा — असार लाग्नासाथ खेतहरू हराभरा हुने, नौमती बाजाको ताल र असारे गीतले रोपाइँलाई उत्सवमा बदल्ने दृश्य अहिले गाउँहरूबाट हराउँदै गएको छ। कुनै बेला ‘बेठी’ भनिने यो सामूहिक रोपाइँ प्रथा आपसी सहयोग र आत्मीयताको उदाहरण थियो, तर अहिले यो सम्झनामा सीमित भएको छ।
धनकुटा नगरपालिका–२ का ताराबहादुर थापा भन्छन्, ‘असारे भाका मनोरञ्जनका लागि मात्र होइन, श्रमलाई सहज बनाउने सांस्कृतिक अभ्यास थियो।’ उनका अनुसार बाह्य संस्कृतिको प्रभाव, आधुनिक जीवनशैली र विदेशिने प्रवृत्तिले नयाँ पुस्ता यी परम्पराबाट टाढिँदै छ।
देवीमाया कार्कीले अझै पनि खेतमा गुञ्जिने असारे गीत र खोल्साको आवाज सम्झन्छिन्। उनका अनुसार, गीतमार्फत रोपाहारले आफ्ना दु:ख–सुख, मायाप्रेम र अनुभव व्यक्त गर्थे। ती स्वरहरू अहिले हराउँदै गएका छन्। पूर्वी नेपालमा यसलाई ‘रसिया’ पनि भनिन्थ्यो। महालक्ष्मी नगरपालिका–४ का मदन कार्कीका अनुसार, अहिले धेरै युवालाई रसिया शब्दसमेत अपरिचित हुँदै गएको छ।
के हो बेठी ? किन हरायो ?
बेठी गाउँभरिका मानिस मिलेर सामूहिक रूपमा धान रोप्ने परम्परागत प्रणाली हो। एक दिन एउटा परिवारको खेतमा सबै जुट्ने, अर्को दिन अर्कोकोमा जाने चलन थियो। नौमती बाजा बज्थे, असारे भाका गुञ्जिन्थे र श्रमपछि सामूहिक भोज हुन्थ्यो। बेठीमा सहभागीलाई ज्याला दिइँदैनथ्यो, तर माटोको टीका, धानको बीउको फूल, दक्षिणा र आत्मीय सत्कारले सम्मान गरिन्थ्यो।
तर समयसँगै कृषि प्रणालीमा आएको परिवर्तन, मेसिनको प्रयोग, वैदेशिक रोजगारी र युवा पलायनले बेठी हराउँदै गयो। पहिले ज्यालाविना सयौँ मानिस खेतमा जुट्थे, अहिले राम्रो ज्यालामा पनि रोपाहार पाउन मुस्किल भएको किसान बताउँछन्।
संरक्षणको पहल
धान खेती अझै पनि नेपालको कृषि अर्थतन्त्रको मेरुदण्ड हो। देशभर १५ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ। कोशी प्रदेशमा मात्रै यस वर्ष असार अन्त्यसम्म करिब ५५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांक छ। तर धान रोप्ने क्षेत्र कायम रहे पनि त्यससँग जोडिएको सांस्कृतिक पक्ष भने कमजोर बन्दै गएको छ।
यो परम्परा जोगाउन कृषि ज्ञान केन्द्र धनकुटा र साँगुरीगढी गाउँपालिकाले यस वर्ष सामूहिक रोपाइँ आयोजना गरेका थिए, तर पहिलेजस्तो रौनक फर्काउन नसकिएको स्थानीयको भनाइ छ। कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरका अनुसार पुरानो स्वरूप फर्काउन कठिन भए पनि संरक्षणका प्रयास जारी छन्।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई भन्छन्, ‘असारे भाका र बेठी हाम्रो सांस्कृतिक सम्पत्ति हो। बजेट छुट्याएर पनि संरक्षणमा लागेका छौँ।’ उनका अनुसार, विद्यालय, स्थानीय तह र सांस्कृतिक संस्थाले नयाँ पुस्तालाई यी परम्परासँग जोड्न सके हराउँदै गएको कृषि संस्कृति पुनर्जीवित हुन सक्छ।
संस्कृति जोगाउनु पहिचान बचाउनु हो
असारे भाका र बेठी केवल धान रोप्ने परम्परा मात्र थिएनन्, ती सामूहिक श्रम, सहयोग र मौलिक पहिचानका प्रतीक थिए। आज खेतमा मेसिन बढेका छन्, तर गीतका स्वर मौन बन्दै गएका छन्। प्रविधिको विकास स्वाभाविक हो, तर सांस्कृतिक स्मृतिको ह्रास चिन्ताजनक छ। अध्यक्ष राईको भनाइमा, यदि यी परम्परा नयाँ पुस्तासम्म हस्तान्तरण भएनन् भने, तिनीहरू इतिहासको पानामा सीमित हुनेछन्। त्यसैले संरक्षणको अर्थ विगतको सम्झना मात्र होइन, पहिचानलाई भावी पुस्तासम्म पुर्याउनु पनि हो।

