मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर सामान्यतया बदली रही धेरै स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनी वायुको प्रभाव कायमै रहेकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा भारी वर्षातको सम्भावना छ।
हिमाली क्षेत्रका केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको छ। कोशी र बागमतीका हिमाली जिल्ला तथा कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भेगमा भारी वर्षाको संकेत गरिएको छ। लुम्बिनीको तराई क्षेत्रमा पनि ठूलो वर्षा हुनसक्ने मौसमविद्को अनुमान छ।
प्रमुख सहरमा वर्षाको सम्भावना
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा वर्षाको सम्भावना ७० प्रतिशत र पोखरामा ८० प्रतिशत छ। ओखलढुंगा र ताप्लेजुङमा पनि व्यापक वर्षा हुने सम्भावना रहेको छ। यता, जनकपुर र धनगढीमा अधिकतम तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ भने काठमाडौंको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस मात्र रहनेछ।
आज राति पनि देशभर सामान्यतया बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी न्यूनचापीय रेखाको स्थिति
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा तराई नजिक रहेको छ भने पूर्वमा सामान्यअवस्थामा रहेको छ। यसले गर्दा पश्चिमी क्षेत्रमा वर्षा बढी हुने सम्भावना रहेको विश्लेषण गरिएको छ।







