नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजसामु जितका लागि १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५३ रनको योगफल खडा गर्यो।
कर्णालीको पारीलाई हुसेन तलतले अन्तिमसम्म अड्याए। उनले नटआउट रहँदै ५१ रन बनाए, जसमा ३३ बलको सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरे। अरिफुल इस्लामले ३५ रन जोडे भने गुल्शन झा १८ र पवन सर्राफ १५ रनमा आउट भए।
मिलरको निरन्तर निराशा
कर्णालीका कप्तान डेभिड मिलरको लागि यो खेल पनि राम्रो बनेन। उनी उस्मान मिरको बलमा कुशल मल्लबाट क्याच हुँदै ५ रनमै पवेलियन फर्के। यो उनको लगातार तेस्रो खराब प्रदर्शन हो।
एनपीएलमा डेब्यु गर्दा मिलरले सुदूरपश्चिम रोएल्सविरुद्ध ५५ बलमा नटआउट ९३ रन प्रहार गरेका थिए। त्यसपछि पोखरा एभेन्जर्ससँगको भेटमा उनी ७ रनमै रोकिए, भने कप्तानको जिम्मेवारी सम्हालेपछि लुम्बनी लायन्ससँगको खेलमा ५ रनमै आउट भएका थिए। आइतबार पनि उनको पारी समान ५ रनमा टुंगियो।
चितवनका बलरमध्ये कमल ऐरी, सलाहुद्दिन खान र उस्मान मिरले समान २–२ विकेट लिए। रिजन ढकाल र सिकन्दर राजाले समान एक–एक विकेट हात पारे।
चितवन यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ भने कर्णाली प्रतियोगिताबाट बाहिरिइसकेको छ। आइतबारको खेल जितेको अवस्थामा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावना कायम रहनेछ। तर त्यसका लागि आजै हुने लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज पोखरा एभेन्जर्ससँग पराजित हुनुपर्नेछ।







