एनपीएलका खेलमा दर्शकको भीडसँगै मैदानबाहिरको प्रस्तुतिले पनि वातावरण तातो बनाइरहेको छ । यो प्रतियोगितामा १० जना चियरलिडर सिफ्टका आधारमा खटिएर स्टेडियममा उत्साह भर्ने काम गरिरहेका छन् ।
उनीहरू फरक–फरक पृष्ठभूमिबाट आएका छन् । पहिलो दिन आफूहरूलाई कौतूहल र डर दुवै भएको, तर मञ्चमा पुगेर नृत्य सुरु गरेपछि आत्मविश्वास बढेको उनीहरूको भनाइ छ ।
क्रिकेटको हरेक खेल उत्तिकै रोमाञ्चक हुँदैन । लगातार विकेट झर्दा, ब्याटरले ढिलो खेल्दा वा खेल एकपक्षीय बन्दा समर्थक निराश हुन्छन् । त्यस्तो बेला स्टेडियमको सन्नाटा तोड्ने जिम्मेवारी चियरलिडरकै काँधमा आउने गरेको छ ।
अहिले भने उनीहरूलाई स्टेडियम कहिले पुग्ने भन्ने हतार हुन्छ । आफ्नो मनपर्ने टिम वा खेलाडीको खेल परे उत्साह अझ फरक हुने गरेको छ । स्टेडियममा संगीत बज्नासाथ उनीहरूलाई जुरुक्क उठेर नाच्न मन लाग्छ ।
परिवारको स्वीकृति नै पहिलो चुनौती
यो काम भने सहज छैन । चियरलिडरलाई समाजले कसरी हेर्छ भन्ने प्रश्न पनि उत्तिकै गम्भीर छ — उनीहरूको कामलाई सम्मानका साथ लिने चेतना हामीमा छ कि छैन ? पहिलो चुनौती भने परिवारबाटै सुरु हुन्छ, किनकि समाज भनेको हामी आफैं हौं ।
स्याबीका लागि परिवारलाई बुझाउन त्यति गाह्रो भएन, तर समय भने लाग्यो । एनपीएलको क्रेजले पनि सहयोग गर्यो । एनपीएल ठूलो मञ्च हो भन्ने कुरा परिवारलाई थाहा भएकाले उनीहरूले बुझेको स्याबी बताउँछिन् ।
अनिशाले भने पहिलो पटक परिवारलाई सुनाउँदा ‘चियरलिडर पनि गर्ने ?’ भन्ने जवाफ पाइन् । तर भाइहरूले एनपीएल ठूलो प्रतियोगिता भएको भन्दै साथ दिएपछि उनी ढुक्क भइन् र पछि सबैको समर्थन पनि पाइन् ।
क्रिस्टिनालाई भने परिवारको सहयोग जित्न खास संघर्ष गर्नु परेन । उनको परिवार नै एनपीएलको फ्यान भएकाले उनको कामलाई सहजै स्वीकार गर्यो ।
यसरी फरक पृष्ठभूमिबाट आएका यी १० चियरलिडर खेल जति नै निरस बने पनि मैदानको माहोल बाँध्यराख्ने भूमिकामा देखिएका छन् ।







