साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले जितका लागि आवश्यक १०६ रन १६ ओभर ४ बलमै चार विकेटको क्षतिमा पूरा गर्यो ।
लक्ष्यको पछ्याइमा लुम्बिनीका लागि विकेटकिपर निरोशन डिकवेलाको पारी निर्णायक बन्यो । उनले ३७ बलमा सात चौका र दुई छक्कासहित ५९ रन बनाएर नटआउट रहे । कप्तान रोहित पौडेलले २८ बल खेलेर एक चौकासहित २१ रनको योगदान दिए ।
सुरुवात भने लुम्बिनीका लागि सहज थिएन । २४ रन जोड्दा दुई विकेट गुमाएको अवस्थामा डिकवेला र रोहितले ३८ रनको साझेदारी गर्दै पारीलाई सम्हालेका थिए । ओपनर डार्शी सर्ट शून्यमै आउट हुँदा असिफ शेखले चार रनमात्र बनाए । अन्त्यमा दिलीप नाथले विजयी छक्का प्रहार गर्दै १२ बलमा नाबाद १० रन जोडे ।
सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई विकेट लिए भने स्कट कुगेलेइन र हेमन्त धामीले समान एक-एक विकेट हात पारे । सन्दीप जोरा आठ रनमा पभेलियन फर्किए ।
सुदूरपश्चिम १०५ रनमै सीमित
यसअघि टस जितेर बलिङ रोजेको लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो । कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । अन्तिम ओभरमा आउट हुनुअघि उनले ५१ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए ।
चौथो ओभरमा टिमको स्कोर आठ रन हुँदा क्रिजमा पुगेका दीपेन्द्रले इशान पाण्डेसँग चौथो विकेटका लागि ६४ रनको महत्त्वपूर्ण साझेदारी गरे । इशानले ३३ बलमा तीन चौकासहित २७ रन जोडे । बाँकी ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन् ।
यो सिजन पहिलो खेल खेलिरहेका ओपनर जर्ज मन्से पहिलो बलमै आउट हुँदा सुदूरपश्चिमको सुरुवात राम्रो भएन । पहिलो खेल नै खेलिरहेका अर्का ब्याटर तानुका दबारे तेस्रो ओभरमा ट्रम्पलम्यानकै बलमा डिकवेलाबाट क्याच आउट भए । रुबेन ट्रम्पलम्यानले पहिलो स्पेलमा तीन ओभर बलिङ गर्दै सात रनमात्र खर्चिएर दुई विकेट लिएका थिए ।
त्यसपछि अभिषेक गौतमले ओपनर विनोद भण्डारीलाई पनि डिकवेलामार्फत स्टम्पभन्दा पछाडि क्याच गराए, जसले सुदूरपश्चिमलाई ३.१ ओभरमै ८-३ को दबाबमा राख्यो । १५औं ओभरको पहिलो बलमा इशान रनआउट हुँदा चौथो विकेट गुमेको थियो भने १६औं ओभरको पहिलो बलमा शेर मल्लाले थरिन्दु रत्नायकेलाई बोल्ड गरे ।
आरिफ शेख छ बलमा चार रन बनाएर डार्शी सर्टबाटै क्याच आउट भए । अन्तिम ओभरको दोस्रो बलमा किशोर महतोले दीपेन्द्रलाई डार्शी सर्टमार्फत क्याच गराए भने अन्तिम बलमा स्कट कुगेलेइन सात रनमा रनआउट भए । अनिल खरेल दुई रनमा नाबाद रहे ।
लुम्बिनीका लागि ट्रम्पलम्यानले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए भने शेर मल्लले पनि दुई विकेट लिए । किशोर महतो र अभिषेक गौतमले एक-एक विकेट हात पारे । सुदूरपश्चिमका दुई ब्याटर रनआउट भएका थिए ।
सुदूरपश्चिमलाई दोस्रो क्वालिफायरको अवसर
यो जितसँगै लुम्बिनीले उपाधि रक्षा अभियानलाई अन्तिम खेलसम्म पुर्याएको छ । दुई पटक उपविजेता रहेको सुदूरपश्चिम भने पहिलो पटक क्वालिफायरमा पराजित भएको छ । हारका बाबजुद सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । बुधबार हुने एलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्नेछन् ।







