किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गराएको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार साँझ मानपुर बजारबाट घरतर्फ फर्किंदै गरेका रायलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले राय पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार किर्ते हस्ताक्षरको आरोपमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि अध्यक्ष रायलाई पक्राउ गरिएको हो।
आर्थिक वर्ष २०८०/८१ को गाउँसभामा वडा नम्बर २ बाट निर्वाचित वडा सदस्य सुनैना सहनीको हस्ताक्षर किर्ते गरी बजेट पारित गराइएको आरोप रायमाथि छ। बजेटसम्बन्धी निर्णय गर्दा गाउँसभा बैठकमा मत आधाआधा भएपछि अध्यक्ष रायले वडा सदस्य सहनीको हस्ताक्षर किर्ते गरेर बजेट पारित गराएको प्रहरी स्रोतले जनाएको छ।
यस विषयमा गाउँपालिकाकी उपाध्यक्ष पक्षले अध्यक्ष रायविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दाको क्रममा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर रायलाई नियन्त्रणमा लिएको हो।







