मुख्य सामग्रीमा जानुहोस्

काठमाडौंलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग फाइनलको टिकट लडाईं

टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले पहिले ब्याटिङ गर्दै ४ विकेटमा २०४ रन बनाएको थियो । जवाफमा काठमान्डु २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमै सीमित भयो ।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
काठमाडौंलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग फाइनलको टिकट लडाईं
Online Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार टीयू मैदानमा भएको एलिमिनेटरमा चितवन राइनोजले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कमिल मिशाराको अविजित शतक र बलरहरूको उत्कृष्ट प्रदर्शन चितवनको जितको आधार बन्यो ।

यो जितसँगै चितवनले फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

मिशाराको शतकमा चितवन २०४ रनमा

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो । ओपनर कमिल मिशारा अन्तिमसम्म क्रिजमा टिक्दै ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरी अविजित १२० रन बनाए । यो उनको करियरको तेस्रो टी२० शतक हो भने एनपीएलमा चितवनका लागि अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर पनि । यसअघि यसै सिजन लिग चरणमा काठमान्डुविरुद्ध चितवनले बनाएको १७० रन टिमको उच्च स्कोर थियो, जुन खेल चितवन १० रनले हारेको थियो ।

सुरुवातमा मिशाराले देव खनालसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे । तर चौथो ओभरमा काठमान्डुका कप्तान करण केसीले देव खनाल र डेविड मालानलाई लगातार आउट गर्दा चितवन २२-२ को स्थितिमा पुगेको थियो । देव खनालले १५ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए भने मालान पहिलो बलमै क्याचआउट भए ।

त्यसपछि मिशाराले कप्तान रवि बोपारासँग मिलेर तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे । एनपीएलमा चितवनको यो अहिलेसम्मको उच्च साझेदारी हो भने प्रतियोगिताको समग्र इतिहासमा तेस्रो ठूलो साझेदारी । १९औं ओभरको तेस्रो बलमा रासिद खानले बोपारालाई बोल्ड गर्दै यो साझेदारी तोडे । बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए, जुन यस सिजन उनको दोस्रो अर्धशतक हो । विवेक यादव ३ बलमा २ चौकासहित ८ रन बनाएर आउट भए । काठमान्डुका करण केसी र रासिद खानले समान २-२ विकेट लिए ।

यस सिजन कुनै पनि टिमले २०० रनभन्दा माथिको योगफल बनाएको यो तेस्रो अवसर हो । यसअघि पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध २१७ र काठमान्डुविरुद्धै २२४ रन बनाएको थियो ।

काठमान्डु १४३ रनमै रोकियो

२०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले पूरै २० ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । काठमान्डुका लागि विलियम बोसिस्टोले २८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । भीम सार्कीले १७ बलमा ३ छक्कासहित अविजित ३० रन जोडे । सहान अराचिगेले १३ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए भने रासिद खानले १२ रन जोडे ।

ओपनर साहिल पटेल दोस्रो ओभरमै व्यक्तिगत २ रनमा आउट भए । त्यसपछि बोसिस्टोले अर्का ओपनर साम हिजलेटसँग २५ रनको साझेदारी गरे, तर हिजलेट पाँचौ ओभरमा व्यक्तिगत ३ रनमै फर्किएपछि काठमान्डुले ३० रनमा दुई विकेट गुमाएको थियो । बोसिस्टोले रासिद खानसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे पनि त्यसपछि काठमान्डुको पारी छिट्टै थाहा भयो । बोसिस्टो, रासिद र अराचिगेको विकेट गुमेपछि काठमान्डु ९२ रनमा ६ विकेटको अवस्थामा पुगेको थियो ।

कुनै पनि विकेटका लागि ठूलो साझेदारी नबन्दा काठमान्डुको पारी १४३ रनमा टुंगियो । कप्तान करण केसी र जहानदाद खान समान १-१ रनमा आउट भए भने सोनु देवकोटा ६ र सन्तोष यादव १० रनमा फर्किए । दशौं नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले भने अन्तिमसम्म टिक्दै टिमको स्कोरलाई केही माथि पुर्‍याए ।

चितवनका लागि रिजन ढकालले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने उसामा मिरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट हात पारे । कुशल मल्ल र सलाउद्दीन खानले समान १-१ विकेट लिए ।