नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणअन्तर्गत शनिबार हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटभित्रै उपलब्ध सबै टिकट बिक्री भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार टिकट खुला गरिएको लगत्तै ठूलो सङ्ख्यामा दर्शक एकैसाथ अनलाइन प्रणालीमा प्रवेश गरेका थिए।
क्यानका सचिव पारस खड्काले शुक्रबार जानकारी दिएअनुसार टिकट बिक्री खुला भएको समयमा करिब दुई लाख प्रयोगकर्ता एकैपटक टिकट खरिद गर्ने प्रयासमा थिए। त्यति ठूलो सङ्ख्याको चापबीच सिट सीमित भएका कारण टिकट छिट्टै अभाव भएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको दर्शक क्षमताअनुसार नै टिकटको सङ्ख्या निर्धारण गरिएकाले माग र उपलब्धताबीच ठूलो अन्तर देखिएको क्यानले जनाएको छ। टिकट पाउन नसकेका समर्थकसँग क्षमा माग्दै सङ्घले नेपाली क्रिकेट र एनपिएलप्रति देखाइएको माया, साथ र उत्साहका लागि आभार प्रकट गरेको छ। मैदान पुग्न नसक्ने दर्शकलाई क्यानले अनलाइन तथा आधिकारिक प्रसारणमार्फत खेल हेर्न आग्रह पनि गरेको छ।
लुम्बिनी र सुदूरपश्चिम भिड्दै
फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। आफ्नो टोलीलाई मैदानमै उपस्थित भएर समर्थन गर्न दुवैतर्फका प्रशंसक उत्सुक छन्। प्रतियोगितामा टोलीको प्रदर्शनसँगै खेलाडी र फ्रेन्चाइजप्रति दर्शकको बनेको भावनात्मक जोडले पनि खेलको आकर्षण बढाएको छ।
टिकट बिक्रीमा देखिएको यो चाप नेपाली क्रिकेटमा पछिल्लो समय विकसित हुँदै गएको दर्शक संस्कृतिको झलक हो। पहिले राष्ट्रिय टोलीका अन्तर्राष्ट्रिय खेलमा मात्र उल्लेख्य दर्शक मैदान पुग्ने गरेकोमा अहिले घरेलु फ्रेन्चाइज प्रतियोगिताले पनि हजारौँलाई मैदानसम्म तानेको छ। प्रत्यक्ष प्रसारण, सामाजिक सञ्जालमा खेलाडीबारे हुने चर्चा र प्रतियोगिताको व्यावसायिक प्रस्तुतिले क्रिकेटलाई मनोरञ्जनको प्रमुख माध्यम बनाउँदै लगेको छ।
एनपिएलले नेपाली खेलाडीलाई विदेशी खेलाडीसँग एउटै टोलीमा रहेर खेल्ने तथा आफ्नो क्षमता देखाउने अवसर दिएको छ। विदेशी खेलाडीको सहभागिता, प्रशिक्षकको उपस्थिति र फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धाले प्रतियोगिताको स्तर र दर्शकको चासो दुवै बढाएको छ।
पूर्वाधारको चुनौती
बढ्दो लोकप्रियतासँगै दर्शक व्यवस्थापन, मैदानको क्षमता विस्तार, टिकट बिक्री प्रणालीलाई व्यवस्थित बनाउने र देशका अन्य स्थानमा पनि स्तरीय क्रिकेट पूर्वाधार निर्माण गर्ने चुनौती पनि थपिएको छ। करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खोज्नुले मैदानको सीमित क्षमता र दर्शकको ठूलो मागबीचको दूरी देखाएको छ।
फाइनलको टिकट मिनेटभरमै सकिनु केवल खेलको टिकट बिक्रीको घटना मात्र नभई नेपाली क्रिकेटप्रति बढ्दो जनचासो, दर्शकको उत्साह र घरेलु क्रिकेटको व्यावसायिक सम्भावनाको सङ्केत हो। यो उत्साहलाई दीर्घकालसम्म जोगाइराख्न पूर्वाधार, प्रतियोगिताको गुणस्तर र खेलाडी उत्पादनमा लगानी बढाउनुपर्ने देखिन्छ।







