राजधानी काठमाडौंसहित सर्लाही र नुवाकोटमा शुक्रबार जुवा खेलिरहेको अवस्थामा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै स्थानमा भएका छापामारीमा पक्राउ परेकाहरूसँग नगद तथा जुवाका सामग्री पनि बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिका-१६, मैपीमा बस्ने ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा कौडा खेलिरहेका उनलाई समेत गरी २४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरूबाट नौ लाख ६० हजार ५०० रुपैयाँ, ४६० अमेरिकी डलर, ५०० भारतीय रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ।
काठमाडौंका दुई स्थानमा छापा
सोही वडाको माछापोखरीमा रहेको सिर्जना गेष्ट हाउसमा तास खेलिरहेका गोरखाको चुमनुब्री गाउँपालिका-३ का ३० वर्षीय कृष्ण गुरुङसहित १३ जनालाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। उनीहरूसँग एक लाख ९३ हजार १८५ रुपैयाँ र चार थान तास फेला परेको प्रहरीले जनाएको छ।
सर्लाही र नुवाकोटमा पनि कारबाही
सर्लाहीको ईश्वरपुर नगरपालिका-१, शङ्करपुरमा कौडा खेल्दै गरेका सोही नगरपालिका-६ बस्ने ६३ वर्षीय पदमबहादुरसहित सात जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूबाट एक लाख ३५ हजार ४२५ रुपैयाँ र छ थान कौडा बरामद गरेको छ।
यस्तै, नुवाकोटको लिखु गाउँपालिका-४, चौघडामा तास खेलिरहेका सूर्यगढी गाउँपालिका-५, बिङ्गोर बस्ने ४३ वर्षीय बिबेक पाण्डेसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले उनीहरूसँग एक लाख ७५ हजार ४३५ रुपैयाँ बरामद गरेको जनाइएको छ।







